नेपालको पहिलो थ्रीडी फिल्म 'भिजिलान्ते'को अफिसियल पोस्टर रिलिज गरिएको छ । शैलेन्द्र मल्लले तयार पारेको यो पोस्टरलाई फिल्मीखबर मार्फत रिलिज गरिएको हो ।
सार्वजनिक फस्टलुक प्रोमोबाट नै प्रशंशा पाएका निर्देशक दीपेन्द्र के खनालले सार्वजनिक पोस्टरलाई पनि सबैले रूचाउने आश गरेका छन् । उनी भन्छन्- 'अहिले सम्म हामीले जे देखायौं त्यसलाई सबैजनाले मन पराईदिनु भएको छ आशा छ यो पोस्टर पनि दर्शकहरूको नजरमा राम्रो नै बन्ने छ ।' समाजमा विद्यमान कुरीति र दण्डहीनताको विषयलाई मनोवैज्ञानिक रूपमा पस्किएको भनिएको यो फिल्मले दर्शकमा विषयवस्तुको थ्रिलर सहित दृश्यात्मक रोमाञ्चकता दिने निर्देशक खनालले बताए ।
शान बस्न्यातले तयार पारेको स्क्रिप्टमा प्रियंका कार्की, सुवास थापा, राज घिमिरे, शिखा शाही, मेनुका प्रधान, ए गुरूङ र शंकर आचार्यले मुख्य भुमिका निर्वाह गरेका छन् । अस्लेशा इन्टरटेनमेन्टमा थ्रीडी प्रविधिमै दीर्घ खड्काले सम्पादन गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने द्धन्द सूर्य थोकरको रहेको छ । फिल्ममा सुरेश राईको संगीत रहेको छ ।
चैत्र ९ गतेबाट देशभर एकसाथ थ्रीडी प्रबिधिमा रिलिज हुन लागेको यो फिल्मलाई सबैले चासोको रूपमा हेरेका छन् । यो फिल्म नेपाली फिल्म उधोगमा नयाँ आयाम पनि भनिएको छ । फिल्मकर्मी तथा सञ्चारकर्मीहरूले यो फिल्मलाई प्रबिधिको उक्लदो खुड्किलोको रूपमा समेत हेरेका छन् ।



