चैत्र ९ गते रिलिज हुन लागेको प्रेम कथानक फिल्म 'मञ्जरी' को प्रोमोश्नल गीत 'हे दैब' सार्वजनिक गरिएको छ जसलाई सनुप पौडेलले गाएका छन् । कालिप्रसाद बाँस्कोटाको संगीत रहेको यो गीतलाई सबिन 'एकतारे' र कालिप्रसादले लेखेका हुन् ।
बुटवलमा घटेको एक सत्य घटनामा आधारित रहेर गणेश देव पाण्डेले निर्देशन गरेको फिल्म 'मञ्जरी'बाट गौरब पहारी र सुजाता कोईरालाले डेब्यू गरेका छन् । यि दुई नयाँ अनुहारले टिनेजर केटाकेटीको प्रेमकथालाई प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ ।
बुटवलमा छायाँकन गरिएको मञ्जरीलाई महेश पौडेलले खिचेका हुन् । फिल्ममा गम्भिर बिष्टको करियोग्राफी तथा अनन्त थपलियाको सम्पादन रहेको छ । मालतीको भट्टी पछि दोस्रो पटक फिल्म निर्देशन गरेका गणेशले यो फिल्मलाई आफ्नो टर्निङ प्वाईण्टको रूपमा लिएका छन् । मालतीको भट्टीबाट राम्रै तारिफ पाएका गणेशलाई यो फिल्मले कुन प्वाईण्टमा पुर्याउँछ हेर्न बाँकि छ ।

