अभिनेत्री रेखा थापा अभिनित फिल्म रावणको अमेरिकाको क्यालिफोर्निया स्थित लस एञ्जल्समा बिशेष शो गरिएको छ । श्री पशुपतीनाथ फाउन्डेशनको सहयोगार्थ आयोजना गरिएको रावणको बिशेष प्रदर्शनीमा अभिनेत्री थापा र उनीसँगै अमेरिका गएका निर्देशक हिमग्याप टासी लामाको साथमा अमेरिकामा रहेका बिशिष्ट व्यक्तिहरूको उपस्थिती रहेको आयोजकले जनाएको छ ।
यस्तै चैत्र ३० गते नेपालमा रिलिज हुन लागेको रेखा अभिनित अर्को फिल्म हमेशाको अडियो म्युजिक लन्च पनि सोही स्थानमा गरिएको छ । हमेशाको अडियोलाई अमेरिकामा नै बस्दै आएका समाजसेवी बेदभक्त जोशी र अभिनेत्री थापाले विमोचन गरेका थिए । छबिराज प्रोडक्सन र रेखा फिल्म्सको संयुक्त व्यानरमा निर्माण भएको यो फिल्मलाई अमेरिकामा पनि रिलिज गर्ने तयारी गरिएको बुझ्नमा आएको छ ।

रेखा थापाको प्रस्तुतीमा छबिराज ओझाले निर्माण गरेको हमेशालाई शबिर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको साथमा सबिन श्रेष्ठ र नरेन खड्का मुख्य भुमिकामा छन् । फिल्ममा रेखा पौडेलको संगीत रहेको छ । त्रिकोणात्मक प्रेमकथालाई सुवास सिंह बस्न्यातले तयार पारेका हुन् भने मदन घिमिरे 'काश्यप' ले फिल्मलाई खिचेका हुन् ।

