बिगत २९ बर्ष देखि थिएटरमा काम गर्दै आएका अनुभवी कलाकार तथा नाटक निर्देशक बिरेन्द्र हमाल पनि फिल्म निर्देशनमा आउने भएका छन् । करिब ५ दर्जन नाटकको निर्देशन, तथा सयौं नाटक र एक दर्जन जति फिल्ममा अभिनय गरिसकेका बिरेन्द्रले निर्देशन गर्ने फिल्मको नाम 'सारङ्क' राखिएको छ ।
एक किराको नाममा फिल्म बनाउन लागेका बिरेन्द्रले चैत्रबाट सुटिङ शुरू गर्ने बताए । नराम्रो काम गर्ने व्यक्तिले राम्रो काम पनि गर्न सक्छ भन्ने थिम आधारित रहेर देशको वर्तमान परिस्थिती र समाज वरपर घटिरहेको घटनालाई फिल्ममा प्रस्तुत गर्ने उनको भनाई छ । आफैले सञ्चालन गरेको एमआर थिएटरमा कलाकारलाई अभिनय गराउँदै आएका बिरेन्द्रले फिल्मको कलाकारलाई अहिले ट्रेनिङ दिईरहेको बताए ।
'कथा सामान्य हो तर प्रस्तुती राम्रो गर्न प्रयास गर्नेछु', बिरेन्द्रले भने- 'अहिले सम्म मैले थिएटरमा जे जति सिकें त्यसलाई फिल्ममा प्रयोग गर्ने जमर्को गरेको हुँ ।' काठमाण्डौ र नेपालगञ्जमा सुटिङ हुने यो फिल्ममा पाँच जना नयाँ अनुहार मुख्य भुमिकामा रहने बिरेन्द्र बताउँछन् । फिल्मको कथा उनैले नै तयार पारेका हुन् भने संगीत बिरेन्द्र शाक्यको रहने छ ।
गोधुली फिल्ममा हिरो बनेका बिरेन्द्रले मजदूर, कहाँ भेटिएला, ए मेरो हजुर, शहिद, सुख दु:ख लगायतका फिल्ममा आफ्नो अभिनय कला दर्शकमाझ पस्किसकेका छन् । बिरेन्द्रले यसअघि तिमी मेरी हौ नामक फिल्मको निर्देशन समेत गरिसकेका छन् ।

