काभ्रेकी १५ बर्षे विद्यार्थी मैना सुनार माथिको घटेको एक सत्य घटनामा आधारित फिल्म मैना हेर्ने जो कोही विद्यार्थीलाई २५ प्रतिशत छुट दिईने मैना यूनिटले निर्णय गरेको छ ।
भोली देखि देशभरिका मात्र ३३ वटा हलमा रिलिज हुने तयारीमा रहेको यो फिल्म हेर्न विशेष गरी विद्यार्थी नछुटुन भन्दै निर्देशक केपी पाठकले यो स्किम ल्याएको बताए । उनले भने- 'विद्यार्थी माथिको घटेको यो घटना सवै विद्यार्थीले हेर्नुपर्छ जस्तो लाग्यो त्यसैले हलले तोकेको निर्धारित टिकटमा २५ प्रतिशत छुटको ब्यवस्था गरेका छौ ।' तर विद्यार्थीहरु फिल्म हेर्न आउदा सामुहिक रुपमा कलेज वा स्कुलको सिफारिसमा आउनु पर्ने पाठकको भनाई छ ।
यस्तै पाठकका अनुसार मैना नाम गरेकी जो कोही महिलालाई यो फिल्म सित्तैमा हेर्ने ब्यवस्था पनि गरिएको छ जसका लागि आधिकारिक आईडी कार्ड देखाउन पर्नेछ । काभ्रेको खरेलथोककी १५ बर्षिया मैनालाई २०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएको थियो जसलाई निर्देशक केपीले मार्मिक ढङ्गमा पर्दामा उतारेका छन् । यस्तै फ्राईडे रिलिज अन्र्तगत मैनासंगै रङ र मानव पनि रिलिज हुदैछ ।

