प्रदर्शनको तयारीमा रहेको फिल्म 'सुपरहिट' को प्रोमोश्नल गीतमा चर्चित पप गायक सबिन राईले स्वर दिएका छन् । स्वरसँगै भिडियोमा उनलाई पनि प्रस्तुत गराईएको छ । सुरेश राईले संगीत भरेको यो सार्वजनिक गीतलाई निराजन पाण्डेले लेखेका हुन् ।
पछिल्लो समय नेपाली फिल्ममा यस किसिमको प्रोमोश्नल गीत तयार पार्दै चर्चित गायकगायिकाहरूलाई समेट्दै फिल्मको पब्लिसिटी गर्ने चलन बढ्दो छ । यहि प्रचलनलाई सुपरहिट निर्माण युनिटले पनि पछ्याएको छ । सबिनलाई यसअघि गत बर्षको सुपरहिट फिल्म चपली हाईटको प्रोमोश्नल गीतमा प्रस्तुत गरिएको थियो । 'उहाँको राम्रो क्रेज रहेकोले र फिल्मको थिम अनुसारको गीतमा फिट देखिएकाले हामीले उहाँलाई लिएका हौं', निर्देशकद्धय निराजन पाण्डे र सौरभ ढकालले बताए ।
मुभी इन्फिनिटीले निर्माण गरेको यो सस्पेन्स थ्रील शैलीको फिल्ममा बिनिता बराल, दिव्यदेव पन्त, महेश त्रिपाठी, सुवास चत्कुल्ली, शिशिर राणा र मञ्जु श्रेष्ठको मुख्य अभिनय रहेको छ । फिल्मलाई रूपन पौडेल र निरज कंडेलले फिल्मलाई खिचेका हुन् । फिल्मलाई नयाँ बर्षको अवसर पारेर बैशाखमा रिलिज गर्ने योजना निर्माण युनिटको छ ।

