संकटकालको समयमा घेटेको एक सत्य घटनामा आधारित फिल्म मैनाको प्रिमियर शोमा राष्ट्रपति देखि लिएर प्रधानमन्त्री तथा राजनीनितिक क्षेत्रका विशिष्ट ब्यक्तिहरुको उपस्थिती हुने बताईए पनि त्यो उपस्थिती शून्य देखियो ।
मंगलबार बिहान कमलपोखरी स्थित कुमारी हलमा आयोजित प्रिमियर शोमा मानव अधिकारकर्मी सहित उच्च निकायका ब्यक्तिलाई पनि निमन्त्रणा गरेको बताईए पनि प्रिमियर माहोलमा चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु) विशिष्ट अतिथिको रुपमा देखा परे । केपी पाठक कृत मैना नेपाली सेनाले गरेको एक गल्तीको बिषयमा केन्द्रित छ जसलाई संकटकालको समयमा घटेका विभिन्न दर्दनाक मध्येको एक घटनाको रुपमा उतारिएको छ ।
पाँच बर्ष अघिनै यो फिल्म तयार भएपनि विभिन्न सिक्वेन्स नमिल्दा मैना रिलिज हुन पाएन तर यो पटक मैना सुनुवार अपहरित भएको ठीक ९ बर्ष पुरा हुँदा उनी कब्जामा परेको अघिल्लो दिन (पर्सी शुक्रबार फाल्गन ४ ) देखि यो फिल्म रिलिज हुँदैछ । काभ्रेको खरेलथोककी १५ बर्षिया मैनालाई २०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएको थियो जसलाई निर्देशक केपीले मार्मिक ढङ्गमा पर्दामा उतार्न सफल भएका छन् ।
सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको मैना फिल्ममा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो फिल्ममा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो फिल्ममा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।





