गत असार महिनामा नेपालमा खोलिएको मालतीको भट्टी हिजो आईतवार अष्ट्रेलियाको केन्स सिटीमा पनि खोलियो । नेपाली भाषी भुटानीहरूको बाहुल्यता रहेको उक्त सिटीको ब्रदर्श लिग इन्टरटेन्मेन्ट क्लबमा पहिलो पटक यसरी नेपाली फिल्म देखाईएको हो ।
केन्स भुटनिज युथ कम्युनिटीको सहकार्यमा स्थानिय केदार न्यौपानेको पहलमा गरिएको फिल्म मालतीको भट्टीको बिशेष प्रदर्शनीमा नायक जीवन लुईटेलको उपस्थिती रहेको थियो । नायक लुईटेलसँग बसेर पहिलो पटक आफ्नो स्थानमा नेपाली फिल्म हेर्न पाएकोमा भुटनिज नेपालीहरू निकै खुसी देखिन्थे । ५०० भन्दा बढि भुटनिज नेपाली र १०० को हाराहारीमा नेपालीहरूको बसोबास रहेको केन्स सिटीमा फिल्म हेर्न अष्ट्रेलियाका स्थानिय नागरिकको पनि उपस्थिती थियो ।
यसअघि फेब्रुअरी दुई तारिखमा फिल्म रिलिज गर्ने बताईए पनि नायक लुईटेलको व्यस्तताका कारणले गर्दा १० फेब्रुअरीमा रिलिज गर्न परेको भुटनिज युथ कम्युनिटीकी लिडर तुलसा गौतमले जानकारी दिईन् । उनले भनिन्, 'फेब्रुअरी २ मा नै रिलिज गर्न पाएको भए अझ राम्रो हुन्थ्यो । तर पनि यति धेरै दर्शकको उपस्थितीमा फिल्म हेर्न पाईयो निकै खुसी लागेको छ ।' मालतीको भट्टी नाम अनुसारको फिल्म पनि राम्रो भएको तुलसाले बताईन् ।
परिवारसँग आएका दर्शकहरू पनि फिल्म रमाई रमाई हेरेको देखिन्थ्यो । स्थानिय नागरिकले भाषा नबुझे पनि गीत र कथासार हेरेर रमाईलो मानेका थिए । एक अष्ट्रेलियन नागरिकले त जीवनलाई राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई समेत दिएका थिए । स्थानिय एक एफएमको आरजे समेत रहेकी तुलसाले आफूहरू भुटनिज भए पनि भाषा, कलासंस्कृती तथा तनमन नेपाली नै रहेको बताईन् । उनले भनिन्, 'हामी नेपाली नै हौं र नेपाली फिल्मको हामीलाई निकै माया लाग्छ ।'
काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेनमेन्टको प्रस्तुती रहेको 'मालतीको भट्टी' लाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । प्रदिप कुमार उदय, नारायण कुमार पाण्डे 'काबिल', गंगा पौडेल र गोपाल पाण्डेले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा जीवनको साथमा रेखा थापा, नन्दिता केसी, अयुब केसी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।





