फिल्म सुटिङका लागि अष्ट्रेलिया पुगेकी नायिका रीमा बिश्वकर्मा आफ्नो काम सकेर नेपाल फर्केकी छिन् । फिल्म 'ऋतु' युनिटले उनलाई शनिबार नेपाल पठाएको हो ।
यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका मनोज अधिकारीले रीमाको काम सकिएकाले नेपाल पठाएको बताए । यस्तै उनले रीमाको कामबाट आफू निकै प्रभावित समेत भएको बताए । उनले भने- 'रीमा साँच्चिकै राम्रो र ट्यालेण्ट कलाकार रहिछन् ।' करिब ७० प्रतिशत सुटिङ सकिएको जनाउँदै निर्देशक अधिकारीले अबको १५ प्रतिशन अष्ट्रेलियामा र बाँकी १५ प्रतिशत नेपालमा सुटिङ गर्ने बताए ।
राजबल्लभ कोईरालाको साथमा नवप्रस्तुतीको रूपमा पूर्व मिस नेपाल मलिना जोशीको मुख्य भुमिका रहेको यो फिल्मलाई आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले निर्माण गरेको हो । अनलाइनमार्फत आयोजना गरिएको एक स्क्रिप्ट लेखन प्रतियोगिताबाट छनौट गरिएको संदिप बडाल लिखित स्क्रिप्टमा निर्माण गरिएको यो फिल्ममा अष्ट्रेलियामै बसोबास गर्दै आएका बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायत थुप्रै नेपाली कलाकारहरुलाई पनि देख्न सकिनेछ ।
युगल जोडीको प्रेममा आउने उतारचढावको साथमा ऋतु बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतार्नलाई क्यामेरामा सुसन प्रजापतीले सहयोग गरेका छन् । ऋतुका गीत अष्ट्रेलियामै बसोबास गर्दै आएका निस्प्रभ सजीले लेखेका हुन् भने संगीत सुजिल कर्माचार्य र सुदिप गिरीको रहने छ । नेपालमा यो फिल्मको सुटिङ मार्च महिनाम गरिने निर्देशकले जानकारी गराए ।

