निर्देशक तथा निर्माता केपी पाठकले राष्ट्रपती, प्रधानमन्त्री सहितका बिभिन्न पार्टीका नेता, स्वदेशी तथा बिदेशी कुटनितिज्ञ, मानवअधिकारकर्मी, नागरिक समाज, सहितका बिभिन्न सामाजिक संघसंस्थासँग आबद्ध प्रतिनिधीहरूलाई मैना हेर्न निमन्त्रणा गरेका छन् ।
२०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई नजिकबाट बुझाउन पाठकले निमन्त्रणा गरेको बताए । फागुन ४ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मलाई फागुन १ गते बिहान ८ बजे कुमारी हलमा बिशेष शोको आयोजना गरेको पाठकको भनाई छ ।
'मैनाको आवाज सुनिदिउन भन्ने हेतुले पनि मैले राजनितिक राष्ट्रपती र प्रधानमन्त्री सहित प्रमुख राजनितिक पार्टिका नेताहरूलाई डाकेको हुँ', केपीले भने, 'मलाई लाग्छ उहाँहरू मेरो निम्तो स्विकार्दै फिल्म हेर्न आउनु हुनेछ ।' यस्तै आज राजधानीमा मैनाको प्रदर्शन तथा अर्न्तक्रिया कार्यक्रमको आयोजना गरिएको पनि पाठकले बताए । सिने मेकर्स प्रालिको ब्यानरमा निर्माण गरिएको मैना फिल्ममा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् ।
अनिताको साथमा सो फिल्ममा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको सो चलचित्रमा रामेशको संगीत, कुमार महर्जनको द्वन्द्व र जीवनाथ सुवेदीको छायांकन रहेको छ ।

