फिल्मको सेन्सर गर्दा चलचित्र विकास बोर्डका एक सदस्यको उपस्थिती हुनु अनिवार्य छ । तर, शुक्रबार गरिएको रङ फिल्मको सेन्सरमा भने कुनै बोर्ड सदस्यको उपस्थिती रहेन । सेन्सर बोर्डका सदस्य नवराज आचार्यले बोर्डका सदस्य सचिव धनराज ज्ञवालीलाई खबर गरेको बताउँदै उपस्थिती नहुनुको कारण आफूलाई थाहा नभएको भन्दै पन्छिए । खबर गरिएको भए किन उपस्थित भएनन् त सदस्य ? प्रश्न गम्भिर छ ।
बुझ्नमा आए अनुसार बोर्डका सदस्य सचिव धनराज ज्ञवालीले सेन्सरमा बोर्ड सदस्यको उपस्थिती हुन अनिवार्य नरहेको बताएकाले खबर नगरिएको हो । स्रोत भन्छ, 'सदस्य सचिवले अध्यक्षलाई नै पछाडी पार्दै आफू अगाडी देखिन खोजेकाले कसैलाई खबर नगरेका हुन् ।' यता भर्खरै मात्र बोर्ड अध्यक्षमा नियुक्त भएका धर्मेन्द्र मरवैता (पप्पु)ले पनि यस बिषयमा आफूलाई जानकारी नभएको बताए । उनले भने- 'हिजो सेन्सर भएछ मलाई पनि खबर भएन । किन भएन भन्ने कुराको बिषयमा भोली बोर्डमा छलफल गर्नेछु ।'

यसरी अध्यक्षलाई नै तल पारेर सदस्य सचिव माथी उक्लिन खोजे जस्तो भएन र ? पप्पु हाँस्दै भन्छन्, 'मलाई पनि त्यस्तै लाग्यो । तर यो बिषयमा भोली छलफल गरेर एउटा निष्कर्ष निकालिने छ ।' यस्तै उनले सेन्सर बोर्डका सदस्यसँग पनि छलफल गर्ने बताए । बोर्ड सदस्य सचिव ज्ञवाली राजधानी बाहिर रहेकाले सम्पर्क नभएको पप्पुको भनाई छ । बोर्डका एक सदस्यले पनि धनराजको मोनोपोली चलेको आरोप लगाए । उनले भने, 'बोर्डको अध्यक्ष धनराज जी हो कि पप्पु जी बुझ्न सकिएको छैन ।'
शुक्रबार साँझ सेन्सर बोर्ड सदस्यले रङ फिल्म हेरे पश्चात पिजी सर्टिफिकेट दिएका छन् । रोशन हमालले निर्देशन गरेको यो फिल्मलाई १८ बर्ष मुनिका दर्शकले आफ्नो अभिभावकको उपस्थितीमा हेर्नु पर्ने हुन्छ । फिल्म यहि फाल्गुन ४ गते रिलिज हुने बताईएको छ ।

