नेपाली फिल्मको बजार विस्तारै ग्लोबल मार्केटमा फैलिन थालेको छ । बिदेशमा फाट्टफुट्ट नेपाली फिल्म रिलिज हुने गर्थे तर अहिले भने नेपाली फिल्म नेपालमा भन्दा पहिला बिदेशमा रिलिज गर्न निर्माताहरू तम्सिएको पाईन्छ । बिशुद्ध आम्दानी हुने र लगानी सेभ हुने आशले पनि नेपाल भन्दा पहिला बिदेशमा रिलिज गर्न होडबाजी नै चलेको छ । यसले नेपाली फिल्मको बजार फराकिलो भएको प्रस्ट पार्छ ।
यहि नेपाली फिल्मको बजारलाई फराकिलो बनाउन अमेरिकाम बिगत ५ बर्ष देखि बस्दै आएका एनआरएन आर्यन बाँस्तोलाले डिष्ट्रिब्युसन कम्पनी स्थापना गरेर हरेक महिना नेपाली फिल्म रिलिज गर्ने तयारी गरेका छन् । शुक्रबार फिल्मीखबरसँगको कुराकानीमा बाँस्तोलाले आगामी मे महिनाबाट अमेरिकाका बिभिन्न शहरमा रहेका फिल्म हलमा नेपाली फिल्म प्रदर्शन गर्ने तयारी गरेको बताए । उनले यसको शुरूवात गत महिना रिलिज भएको फिल्म 'अध्याय'बाट गर्न लागेको बताए ।
करिब डेढ महिनाको नेपाल भ्रमण पश्चात शनिबार अमेरिका प्रस्थान गर्न लागेका आर्यनले आईभरी इस्ट इन्टरटेन्मेन्ट नामक डिष्ट्रिब्युसन कम्पनी तयार गरेर नेपाली फिल्मको अमेरिकामा डिष्ट्रि
ब्युसन गर्न लागेको खुलाए । उनले अहिले १२ वटा फिल्म हलसँग कुरा भएको जानकारी दिँदै मे महिना सम्ममा १५ वटा हलमा अध्याय रिलिज गर्ने बताए । उनले भने, 'अमेरिकामा नेपाली फिल्मको बजार देखेर नै यो कार्यको थालनी गरेको हुँ ।'
नेपालमा कलाकार निर्मल शर्मालाई आफ्नो व्यवसायिक सहयोगीको रूपमा अनुबन्धित गरेका आर्यनले छिट्टै नै नेपाली फिल्मको निर्देशन समेत गर्दैछन् । सरोज खनाल, गौरी मल्ल, राजबल्लभ कोईराला सहित दुई अमेरिकी कलाकारको मुख्य भुमिका रहने यो फिल्मको सुटिङ अमेरिकामा नै गरिने भएको छ । मे महिनाबाटै सुटिङ गर्ने योजना बनाएका आर्यनले राजबल्लभको समय नमिलेकाले केहि महिना पर धकेलिने बताए । उनले भने, 'राज जी ऋतुको सुटिङ सकेर हाईवे टु धम्पुसका लागि नेपाल आउनु हुन्छ । त्यसपछि हामीले उहाँलाई अमेरिका बोलाएर सुटिङ गर्नेछौं ।'
अमेरिकाको सपना बोकेका नेपाली युवाहरूको कथालाई बुनेर 'द हाफ मुन' नाम दिईएको सो फिल्मलाई राजन गिरी, बिमल योङताङ र मित्र घलेले निर्माण गर्नेछन् । फिल्मलाई ६० % नेपाली र ४० % अंग्रेजी भाषामा सुटिङ गरिने आर्यनले बताए । उनले अमेरिकामा नै फिल्म सम्बन्धी अध्ययन गरेको बताएका छन् । फिल्मलाई अमेरिकी सिनेमाटोग्राफर टड जे लक्जईले खिच्ने भएका छन् ।

