हुन त उनको पृष्ठभुमी खेलकुद हो । महिला भलिबलमा नेपालको तर्फबाट अर्न्तराष्ट्रिय स्तरसम्म चर्चा कमाईसकेकी पोखराकी सिपोरा गुरुङ फिल्ममा नायिका समेत बनिसकेकी छन् । गुरुङ सँस्कृतिमा आधारित रहेर पोखरामा निर्माण भएको एउटा फिल्ममा उनले मुख्य भुमिकामा अभिनय समेत गरिसकेकी छन् । तर रंगीन दुनियाँमा उनको यात्रा यतिमा मात्र सिमित भएन, अहिले उनी मिस नेपालको लागी दोस्रो चरणमा छनौट भैसकेकी छन् ।

देशभरका ४७ जना युवतीहरु मध्ये दोस्रो चरणमा मिस नेपाल २०६९ का लागी सिपोरा गुरुङ सहित १६ जना छनौटमा परेका छन् । सबैभन्दा कम उमेरमा भलिबलको माध्यमबाट अर्न्तराष्ट्रिय स्तरको पदक समेत जितिसकेकी यी पोखराका सुन्दरीले २०६७ सालमा पल्सर वर्ष खेलाडीको उपाधी समेत जितिसकेकी छन् । आकर्षक जिउडाल र सुन्दर अनुहार भएकी सिपोराले मिस नेपालको यो सँस्करणमा कस्तो प्रस्तुती दिनेछिन् त्यो भने आगामी दिनले बताउने नै छ ।
सिपोरा गुरुङ खासमा नेपाल सेनामा रहेर देशको सेवा गर्न चाहन्छिन् । त्यसैले हाल उनी नेपाली सेनाको सहसेनानी पदको लागी परिक्षाको तयारीमा जुटिरहेकी छन् । सिपोरालाई नजिकबाट जान्ने फोटो पत्रकार सुदर्शन रञ्जित भन्छन्–‘खेलकुद सिपोराको प्यासन हो र खेलकुदसंगै नेपाली सेनाको जागिर उनको लक्ष्य हो ।’ मिस नेपाल २०६९ मा समेत पोखरेली यी चेलीले आफ्नो उपस्थिती दमदार रुपमा प्रस्तुत गर्नेमा रञ्जित ढुक्क देखिए । साथै सिपोराको यो सफलताको यात्रामा पोखरेलीहरुको साथ पनि उत्तिकै आवश्यक भएको उनले बताए ।
पोखराको राष्ट्र बैंक चोक स्थित आफ्नै परिवारको साथमा बस्दै आएकी सिपोराले सिपोराले अभिनय गरेको फिल्मको नाम 'घलेक' हो । जुन फिल्म प्रदर्शनको सँघारमा छ । भकारी फिल्मस्को ब्यानरमा निर्मित फिल्म अब चाँडै नै प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । गुरुङ सँस्कृतिमा आधारित रहेर पोखरामा निर्माण भएको फिल्म ‘घलेक-द साईन’मा सिपोरा बर्मेली युवतीको भुमिकामा देखिएकी छन् ।
दोश्रो विश्व युद्धमा ब्रिटिश सरकारको तर्फबाट बर्मा अर्थात म्यानमारमा लडेर बर्मा मै बसेका नेपालीहरुको कथा फिल्ममा समावेश गरिएको छ । बर्मामा बसेका नेपाली र नेपालमै रहेका नेपालीहरु बीचको सम्बन्धको बारेमा फिल्म बनेको यस फिल्मको निर्माणपक्षले जनाएको छ ।

