Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भिजिलान्तेहरूको थ्रीडी अनुभव

फिल्मीखबर, काठमाण्डौ, 2013/02/07

आगामी चैत्र ९ गते ६ भिजिलान्तेहरू देशभरका हलमा घुसपैठ गर्दैछन् । तिनै भिजिलान्तेहरूले हल भित्र बसिरहेका दर्शकलाई तर्साउने मात्र हैन पूर्ण मनोरञ्जन समेत दिनेछन् ।

 

तिनै ५ भिजिलान्तेहरू प्रियंका कार्की, राज घिमिरे, मेनुका प्रधान, शिखा शाही र ए गुरूङ बिहिबार झम्सिखेलमा बिभिन्न पोज दिँदै थिए । दीपेन्द्र के खनालले निर्देशन गरेको पहिलो थ्रीडी फिल्मका यि भिजिलान्तेहरू फिल्मको पब्लिसिटी पोस्टरका लागि झम्सिखेलमा उपस्थित भएका हुन् । पहिलो थ्रीडी फिल्म भएकाले हुनसक्छ सबैको अनुहारमा एक किसिमको चमक र उत्साह देखिन्थ्यो । फोटो सेसनको व्यस्तकाका बाबजुत फिल्मीखबरसँग उनीहरूले यसरी आफ्नो थ्रीडी फिल्मको अनुभव साटे -

 

प्रियंका कार्की

सबैभन्दा पहिला त म आफूलाई भाग्यमानी ठानेकी छु यस अर्थमा कि यो नेपाली फिल्म इन्डष्ट्रीको पहिलो थ्रीडी फिल्म हो र म त्यसभित्रको एक सदस्य । इतिहास रच्न लागेको यो फिल्मको सदस्य हुन पाएको नाताले आफूलाई गर्व लागिरहेको छ । यो अवसर दिनुहुने निर्माण युनिट टिम अझ बिशेषगरी निर्देशकलाई बिशेष धन्यवाद दिन्छु । सबै युवाहरूको टिम भएकाले काम गर्दा निकै रमाईलो भयो । थ्रीडी भएकाले हामी सट दिने बित्तिकै मोनिटरमा रिभ्यू हेर्न पुग्थ्यौं । आफ्नो काम तिर भन्दा पनि बढि ध्यान थ्रीडीको ईफेक्ट तिर जान्थ्यो । निकै रमाईलो लागेको थियो । रमाईलो रमाईलोम अनै सुटिङ सकियो । अब दर्शक कत्तिको रमाउनु हुन्छ हेर्न बाँकी छ ।

 

राज घिमिरे


चपली हाईट पछि पुन: निर्देशक दीपेन्द्र जीसँग काम गर्न पाउनु एउटा खुसी थियो भने अर्को खुसी पहिलो पटक थ्रीडी फिल्ममा काम गर्न पाउनु थियो । शुरूमा त मलाई बिश्वास नै लागेको थिएन कि म थ्रीडी फिल्ममा काम गर्दैछु भनेर । जब काम शुरू भयो त्यसपछिका दिन देखि अहिले सम्म पनि निकै उत्साह छ । सुटिङ गर्ने तरिका एउटै भएपनि थ्रीडीको इफेक्टहरू दिंदा निकै रमाईलो भयो । इफेक्ट दिने क्रममा नै निकै उचाईबाट तल खस्दा झण्डै म खुस्किएको थिएँ, त्यो सम्झिंदा त अहिले पनि झसंग हुन्छु । समग्रमा भन्दा हामीले एउटा राम्रो थ्रीडी फिल्म दर्शकसामु पस्कने जमर्को गरेका छौ । आशा छ चपली हाईटमा जस्तै यसमा पनि मलाई दर्शकले रूचाउनु हुनेछ ।

 

मेनुका प्रधान


मलाई थ्रीडी क्यामेरा देखेर नै अचम्म लाग्यो । पहिलो सट खिच्न क्यामेरा अगाडी उभिंदा एकछिन त अचम्म लाग्यो । पछि सुटिङ गर्दै जाँदा साँच्चिकै रमाईलो भयो । सबैभन्दा बढि रमाईलो थ्रीडीको इफेक्ट खिच्दा हुन्थ्यो । धेरैले पत्याएका थिएनन् कि नेपालमा पनि थ्रीडी फिल्म बन्छ भनेर, त्यो बेला मन निकै खिन्न हुन्थ्यो । अहिले तयार हुँदा सबैले पत्याउन थालेका छन् त्यसैले खुसी लागेको छ । हामी पनि प्रबिधिको प्रयोग गर्न पछाडी हटेका छैनौं भन्ने कुरा यो फिल्मले देखाउँछ ।

 

शिखा शाही


हुनत यो भन्दा अगाडी मेरो रङ फिल्म रिलिज हुँदैछ । त्यसैले रङको उत्साह अहिले अलि बढि नै छ । तर थ्रीडी फिल्मको उत्साह पनि कम छैन । कहिले फिल्म रिलिज होला जस्तो भईरहेको छ । शुरूमा हल्ला मात्र हो जस्तो लागेको थियो तर जब थ्रीडी क्यामेरा अगाडी उभिएर अभिनय गर्न थालें र आफ्नो अभिनयलाई मनिटरमा हेरें त्यसपछि थ्रीडी फिल्म खेल्नुको मजा पाएँ । भुमिका सानो भए पनि म पूर्ण सन्तुष्ट छु पहिलो थ्रीडी फिल्मम काम गर्न पाएकोमा ।

 

ए गुरूङ
सबैभन्दा पहिला त मलाई कलाकार बन्छु भन्ने नै लागेको थिएन । तर जब निर्देशक ज्यूले अफर गर्नु भयो त्यो पनि पहिलो थ्रीडी फिल्ममा मेरो त खुसीको सिमा नै रहेन । म निर्देशकलाई त जीवनभर नै भुल्न सक्दिन । मैले नसोचेको फिल्ममा काम गर्न पाएँ निकै खुसी र रमाईलो लागेको छ । पहिलो फिल्म भएपनि सबैले मेरो कामको प्रशंशा गरिदिनु भएको छ । मैले पनि निकै राम्रो गरेको छु भन्ने लागेको छ । आशा छ दर्शकहरूले मेरो कामलाई मात्र हैन पूरै फिल्मलाई नै मन पराईदिनु हुनेछ ।

 

फिल्मका अर्का भिजिलान्ते पात्र सुवास थापा भने फोटो सुटमा उपस्थित थिएनन् ।