Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उक्लिन नसकेका हिरोहरू !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/07

फिल्म नगरीमा छिर्ने सबैको सपना स्टार बन्ने नै हो । चाहे त्यो कलाकार होस् चाहे निर्देशक वा अन्य जो कोही प्राबिधिक सबैले दाम भन्दा पनि नाम कमाउन अग्रसर हुन्छन् । अपसोच, सोचेको र देखेको सपना सबैको पूरा हुने भने आज यो फिल्म नगरी कहाँ पुगिसक्थ्यो । तर पनि यहाँ नामको लागि दौडिनेहरू दौडिरहेका छन् । कोही चुचुरो चुम्दै छन् त कोही चुचुरो चुम्न बामे सर्दैछन् भने कोही उकालोमै अड्किरहेका छन् तर आश मारेका छैनन् ।

 

यहि उकालो उक्लिनेहरूको भिडमा केहि यस्ता हिरोहरू छन् चुचुरोमा पुग्ने सपना बोक्दै उकालोमा नै लडिबुडी खेलिरहेका छन् । थुप्रै फिल्ममा काम गरिसकेका नायक आयुष रिजाल एकताका निकै चर्चामा आए । पहिलो फिल्म हिफाजतले उनलाई जसरी माथी उचाल्यो त्यसपछिका फिल्मले उनको करियरलाई चुस्स पनि छुन सकेन । यहि दौडमा दौडिरहेका अर्का नायक मुकेश ढकाल पनि हुन् । उनले पनि थुप्रै फिल्ममा काम गरे तर सफलता न्यून नै रह्हो ।

 

हुनत फिल्ममा काम पाईरहनुलाई कलाकारले सफलता मान्छन् तर फिल्मको सफलता र कामको सफलताको मूल्याङ्कन भने कमै गरिन्छ । सबैभन्दा बढि फिल्ममा व्यस्त रहेका नायक सुमन सिंह अझै स्टार बन्न सकेका छैनन् । स्टार यसअर्थमा कि उनले अभिनय गरेका अधिकांश फिल्मले बक्स अफिसमा कुनै चमत्कार देखाउन सकेको छैन । पहिलो फिल्म 'कुसुमे रूमाल-२'ले नेपाली रजतपटमा राम्रै स्थान दिएपनि नायक निरज बरालले त्यसपछिका फिल्ममा त्यो स्थान जमाउन नसक्दा चिप्लिनु परेको छ । तर पनि उनको रेशसँगै आशा कायम नै छ ।

 

मुख्य भुमिका नपाए पनि फिल्ममा काम पाईरहेका अर्का नायक मुकेश आचार्य पनि यो लिस्टमा परेका कलाकार हुन् । उनी पनि आफ्नो पहिचान खोज्दै यहि रूमल्लिरहेका छन् । 'चाहन्छु म तिमीलाई' र 'पिंजडा'मा काम गरेर अमेरिका हानिएका सुरेश मरहठ्ठा उर्फ रेश मरहठ्ठा पुन: नेपाल फर्केर यहिं संघर्ष गरिरहेका छन् । अरू व्यानरको फिल्म खेले सफल भएन । आफैले 'च्यालेञ्ज' फिल्म बनाए अहिले सम्म रिलिज भएन । उनको पनि भाग्यलाई दोष दिने कि कर्मलाई बुझिनसक्नु छ ।

 

पहिलो फिल्म 'दर्पण छायाँ'ले त नसोचेको परिचय दियो उत्तम प्रधानलाई तर त्यसपछिका फिल्मले भने नसोचेकै परिचय गुमाईदियो । मौका पाएसम्म फिल्म भने उनले खेल्न छोडेका छैनन् । हुनसक्छ उनी यो दौडमा भन्दा आफ्नै व्यवसायको दौडमा बढि तल्लिन छन् तर नामको भोक कस्लाई पो हुन्न र ! उत्तमसँगै आएका अर्का नायक भुपेन चन्द पनि फाट्टफुट्ट फिल्म खेलिरहेका छन् तर उचाई लिन उनलाई पनि हम्मे हम्मे परेको छ ।

 

अर्जुन कार्की एक्सन हिरोको रूपमा चिनिन चाहन्थे तर निखिल उप्रेती र बिराज भट्टको एक्सनका अगाडी उनको एक्सन फिक्का भयो र उनी एक्कासी छाल जसरी आएर र त्यसैगरी किनार लागे । केहि आश 'बजार' फिल्मबाट थियो तर दुर्भाग्य बजारले दर्शकलाई आकर्षित गर्न सकेन । माया नमार फिल्मबाट उदाएका नायक रमित ढुंगाना त झन् अहिले ओझेल नै परिसकेका छन् ।

 

उल्लेखित हिरोहरूसँगै अहिले नयाँ अनुहारका रूपमा उदाउँदै गरेका हिरोहरू पनि यो दौडमा समावेश छन् । यो दौडमा को अघिपछि हुने हो हेर्न बाँकी छ ।