Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बधशालाको म्याद सकियो !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/04

तीन बर्ष अगाडी चलचित्र विकास बोर्डबाट प्रदर्शनको अनुमती लिएको फिल्म बधशालाको तीन बर्षे म्याद सकिएको छ । जसले गर्दा रक्षा मन्त्रालयले फिल्म प्रदर्शनमा रोक लगाउन गृह मन्त्रालयलाई आदेश दिए पछि झन्झट बेहोरेको फिल्म बधशाला निर्माण टिमले पुन: अर्को झन्झट बेहोर्नु परेको छ ।

 

विकास बोर्डका निर्माण तथा वितरण विभागका अधिकृत हरि सिंह रैखोलाले दिएको जानकारी अनुसार बशालाको गत मंसिर महिनामा नै म्याद सकिएको हो । अब फिल्म निर्माण युनिटले नयाँ प्रक्रियाबाट पुन: फिल्मको स्क्रिप्ट सहित नाम दर्ता गराई निर्माण इजाजत पत्र लिनु पर्नेछ । 'म्याद नसकिंदै आएको भए एक बर्ष थप गर्न मिल्थ्यो तर आउनु भएन । अब त प्रक्रिया पुराएर आएमा मात्र हामीले निर्माण इजाजत दिन्छौं', रैखोलाले भने, 'निर्देशक ज्यू (मनोज पन्डित)लाई हामीले नयाँ प्रक्रियाबाट इजाजत लिन भनिसकेका छौं । उहाँहरू प्रक्रिया पुर्‍याएर आउनु भयो भने हामीले इजाजत दिन्छौं ।'

 

नयाँ प्रक्रिया अर्न्तगत निर्माण युनिटले पुन: फिल्मको नाम पूर्ण स्क्रिप्ट सहित विकास बोर्डमा दर्ता गराउनु पर्ने हुन्छ । दर्ता प्रक्रियाका लागि आएपछि फिल्मको स्क्रिप्ट अध्ययन गरेर मात्र निर्माण इजाजत बोर्डले दिने गरेको छ । यदि स्क्रिप्ट पास भएर इजाजत पाएको खण्डमा नियमले इजाजत पाएको २५ दिन भन्दा अगाडी सेन्सर सिफारिस दिन नमिले पनि बधशाला निर्माण भईसकेकाले बोर्डको समितीसँग छलफल गरेर सेन्सर सिफारिस दिन सक्ने अवस्था हुन्छ । तर, सञ्चार मन्त्रालयले अहिले नै उक्त फिल्मको सेन्सर सिफारिस नदिन विकास बोर्डलाई आग्रह गरेको छ ।

 

यस्तै फिल्म माथि नै रक्षा मन्त्रालयले आपत्ति जनाईरहेका बेला पुन: फिल्मको स्क्रिप्ट हेरेर निर्माण अनुमती पाउने सम्भावना पनि कम छ । माओवादी द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले विद्रोही माओवादीलाई पक्रेर भैरवनाथ गणमा दिएको चरम यातनामा केन्दि्रत रही बनाइएको फिल्म 'बधशाला'मा सम्बन्धित निकायसँग स्वीकृति नलिई सेनाको पोसाक र दज्र्यानी चिह्न हुबहु मिल्ने गरी छायांकन गरेको भन्दै रक्षा मन्त्रालयले प्रदर्शनमा रोक लगाउन गृह मन्त्रालयलाई पत्र पठाएको हो । तर, निर्माण युनिटले स्क्रिप्ट पास गराई निर्माण इजाजत लिएर फिल्म बनाएकाले रक्षा मन्त्रालयको पत्र प्रति असन्तुष्टि जनाएको छ ।

 

यता तीन बर्ष अगाडी फिल्मको स्क्रिप्ट अध्ययन गर्ने चलन नरहेकाले यस किसिमको त्रुटी हुन गएको बोर्डका एक कर्मचारीले बताए । कर्मचारी भन्छन्- 'अब हामीले स्क्रिप्टको अध्ययन गरेर मात्र निर्माण इजाजत दिन्छौं ।' फिल्म निर्माण युनिटले फाल्गुन २५ गतेका लागि रिलिज मिती तय गरेको छ ।