माघ १९ गते अर्थात भोली शुक्रबार रिलिज हुने भनिएको फिल्म 'समय' आन्दोलनले गर्दा चल्न नसके पछि तिम्रो लागि र शान प्रदर्शनमा आउने भएका छन् । यि दुबै फिल्मका मुख्य नायक सुमन सिंह हुन् ।
एनआर घिमिरेले निर्देशन गरेको फिल्म तिम्रो लागिमा सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे, दिव्यश्वर गौतम, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेल लगायतको अभिनय रहेको छ । प्रेमकथामा आधारित यो फिल्मलाई अरूण फिल्म्सको व्यानरमा अरूण खड्काले निर्माण गरेका हुन् । फिल्ममा सन्तोष प्रगाढको संगीत, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, देबेन्द्र हुरहुरको छायाँकन, बब्बु थापाको नृत्यनिर्देशन तथा बनिश शाहको सम्पादन रहेको छ । यो फिल्म माघ २६ गतेबाट सरेर १९ गतेका आएको हो ।
यता रामजी लामिछानेले निर्देशन गरेको फिल्म शानमा सुमन सिंह, झरना थापा, कुशल थापा र अनुस्का शेवाको मुख्य भुमिका रहेको छ । फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् । निर्माण युनिटसँग मनमुटाव भएपछि निर्देशक लामिछानेले फिल्मबाट आफ्नो नाम निकाल्न आग्रह गरेकाले फिल्ममा उनको नाम नराखिएको निर्माण युनिटको भनाई छ ।
यता पोस्टपोण्ड भएको फिल्म समयको रिलिज कहिले हुन्छ भन्ने निश्चित छैन । निर्माता सन्देश श्रेष्ठले आन्दोलनले एक साता भित्रमा बिश्राम लिए आगामी शुक्रबार रिलिज हुने बताएका छन् । अभिनेत्री मौसमी मल्लको प्रस्तुतीमा दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा मौसमी मल्ल, राजेश हमाल, विक्की मल्ल र सुरवी बिष्टको मुख्य भुमिका रहेको छ ।

