Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आन्दोलन कत्तिको प्रभावकारी ?

फिल्मीखबर, काठमाण्डौ, 2013/01/31

दुई साता देखि मैदानमा उत्रेका फिल्मकर्मी आन्दोलनकारीहरूले गत शनिबारबाट सम्पूर्ण सुटिङ, पोस्टप्रोडक्सन तथा फिल्म हल बन्द गर्न पत्र लेखेर सबै तिर पठाए । अधिकांश फिल्मको सुटिङ रोकियो भने पोस्टप्रोडक्सन अफिसहरू पनि लगभग पूरै जसो बन्द भए तर फिल्म हल बन्द भएन ।

 

आन्दोलनमा उत्रेका फिल्मकर्मीहरू जति नै गर्जे पनि आन्दोनलबाट हात झिकेको नेपाल चलचित्र संघले हल बन्द नगर्ने निर्णय गर्यो र देशभरी नेपाली र बिदेशी फिल्महरू चले । शुक्रबार रिलिज हुन नसकेको हिन्दी फिल्म रेस २लाई सेन्सर बोर्डले सञ्चार मन्त्रालय भित्रै सेन्सर गरि रिलिज गर्ने अनुमती दियो । आन्दोलनमा ऐक्यबद्धता जनाएको शिब सेना नेपालले हल सञ्चालकलाई हिन्दी फिल्म नचलाउन धम्की दिंदै प्रेस विज्ञप्ती त निकाल्यो तर फिल्म चले पछि कुनै कदम चालेन ।

 

यता आन्दोलनमा ऐक्यबद्धता जनाएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले बिहिबार सम्म फिल्म चल्ने मौका दिएको र शुक्रबारबाट कुनै पनि हालता फिल्म नचल्ने बताएका थिए । तर, चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले भने हल कुनै पनि हालतमा बन्द नहुने तर्क अघि सारे । बिहिबार साँझ फिल्मीखबरको भेटमा पोखरेलले भने, 'हामीले हल बन्द गर्‍यौं भने दर्शकहरू फिल्म हेर्न पाउनु पर्छ भन्दै आन्दोलनमा उत्रन्छन् । अनि हामी के गर्ने ?'

 

भोली शुक्रबारबाट दुई नेपाली फिल्म तिम्रो लागि र शान रिलिज हुँदैछन् भने हिन्दी फिल्म 'पार्कर' र अंग्रेजी फिल्म 'काठमाण्डौ - अ मिरर इन द स्काई' रिलिज हुँदैछ । यस्तै आन्दोलन प्रभावकारी नभएको भन्दै बन्द भएका फिल्मका सुटिङ र पोस्टप्रोडक्सनका कामहरू पनि शुरू गर्ने तयारीमा फिल्मकर्मी पुगेका छन् । तर, आफूले उठाएका माग पूरा गर्न केहि फिल्मकर्मीहरूले आफ्नो आन्दोलनलाई जारी राख्दै माग पूरा नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् ।

 

प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेर आफ्नो आवाज सुनिदिन आन्दोलनकारीले आग्रह गरे तर प्रधानमन्त्रीले गरेको प्रतिबद्धा पूरा हुन पाएन । बिरोधका बाबजुत सञ्चारमन्त्री राजकिशोर यादवले चलचित्र विकास बोर्डको अध्यक्षमा धमेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरे । त्यसकै बिरोधमा उत्रेका फिल्मकर्मीले रिले अनसन रोकेर आवरण अनसन शुरू गरे । बिहिबार दिउँसो आन्दोलनकारी र सञ्चारमन्त्री राजकिशोर यादव विच वार्ता भयो तर निश्कर्ष निस्केन । भोली शुक्रबार पुन: वार्ता गरेर निकास निकाल्ने सहमती त भएको छ तर सम्भावना न्यून देखिन्छ । तर पनि हेरौं भोलीको वार्ताले केहि निकास निकाल्छ कि !