नेपालको सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको फिल्म 'धन्दा' लाई भारतको सेन्सर बोर्डले पनि एडल्ट सर्टिफिकेट दिएको छ । फिल्मको सेन्सर र रिलिजका लागि करिब २० दिन देखि भारतमा रहेका निर्माता बाबुराम दाहाले फिल्मीखबरलाई दिएको जानकारी अनुसार फिल्मको भ्वायलेन्सका कारण एडल्ट सर्टिफिकेट पाएको हो ।
फिल्मले 'ए' सर्टिफिकेट पाएपछि कुनै सिन काट्न नपरेको निर्माता दाहालले जनाए । भारतका थुप्रै स्थानमा रिलिज गर्ने योजनाका साथ फिल्मको सेन्सर गरेको निर्माता दाहालले बताए । उनले भने- 'छिट्टै नै हामी भारतको एक ठूलो डिस्ट्रिब्युसन कम्पनीसँग एग्रिमेन्ट गर्दैछौं अनि कहाँ-कहाँ रिलिज गर्ने भन्ने फिक्स हुन्छ ।' पौष १३ गते नेपालमा रिलिज भएको यो फिल्म युके र अष्ट्रेलियामा प्रदर्शन भईसकेको छ भने अन्य मुलुकमा पनि प्रदर्शन हुने क्रममा छ ।
सामाजिक कथामा आधारित फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । फ्राईडे फिल्म्सको व्यानरमा निर्देशक थापा र बाबुराम दाहालले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा अर्पण थापा मुख्य भुमिकामा छन् । अर्पणको साथमा फिल्ममा समुना केसी, सुभेच्छा थापा, पुष्कर गुरूङ, दिलभुषण पाठक लगायतले अभिनय गरेका छन् । नेपालबाट सोचे अनुरूपको व्यवसाय गर्न नसकेको धन्दाले दर्शक र समिक्षकबाट रिभ्यू भने राम्रो पाएको छ ।


