विश्वमा डिजिटल प्रबिधिबाट फिल्म निर्माणको बढ्दो विकाससँगै नेपालमा पनि यसको विकास क्रम बढ्दो छ । हरेक बर्ष नेपालमा नयाँ नयाँ डिजिटल प्रबिधिबाट फिल्म बन्ने गरेका छन् । सेलुलोईडले व्यापकता पाएको नेपालमा अहिले डिजिटलको बजारले सेलुलोइडको बजारमा ख्वाप्पै खाईदिएको छ ।
करिब चार बर्ष अगाडी निर्देशक तथा निर्माता आकाश अधिकारीले पहिलो पटक नेपालमा अत्याधुनिक गुणस्तरको रेड ४के क्यामेरा भित्र्याएसँगै डिजिटलले प्रबिधि अझ विस्तारित भएको हो । यस भन्दा अगाडी डिजिटल प्रबिधिबाटै २के, ईएक्स३ लगायतका केहि डिजिटल क्यामेराले फिल्मलाई खिच्ने गरेका थिए । हलिउडमा समेत निकै चल्न थालेको रेड क्यामेरा अहिले नेपालमा पनि थुप्रै प्रोडक्सन कम्पनीले भित्र्याएका छन् ।
| 3D Camera |

यहि प्रोडक्सन कम्पनीको भिडमा अस्लेशा इन्टरटेन्मेन्टले निर्देशक दीपेन्द्र के. खनालको सहकार्यमा पहिलो पटक थ्रीडी क्यामेरा भित्र्याएको छ । केहि महिना अगाडी भित्रिएको उक्त थ्रीडी क्यामेराले खिचेको पहिलो फिल्म 'भिजिलान्ते' प्रदर्शनको क्रममा पुगिसकेको छ । 'हामीले भोलीको थ्रीडी बजार देखेर नै क्यामेरा सहित पोस्टप्रोडक्सनको काम शुरू गरेका हौं', बिशालनगर स्थित अस्लेशा कार्यालयमा फिल्मीखबरसँग गफिंदै सञ्चालक विश्व गौचनले भने, 'थ्रीडी फिल्म निर्माणका लागि हामीले सम्पूर्ण प्याकेज दिने व्यवस्था मिलाएका छौं ।'
| Omkar Gauchan |

भिजिलान्तेका निर्देशक दीपेन्द्रले थ्रीडी फिल्म बनाउने सुर कसेपछि प्रोडक्क्सनमा आफूले सहयोग गरेको बताउँदै विश्वले भने- 'खुम्चिएर बस्यौं भने प्रगती हुँदैन त्यसैले प्रबिधिको सदुपयोग गर्न हामी थ्रीडीको बजार खोज्न थालेका हौं । मलाई लाग्छ भोलीका दिनमा फिल्मकर्मीहरूलाई थ्रीडी फिल्म मेकिङले आकर्षित गर्नेछ।' निकट भविश्यमा रेड क्यामेराकै अर्को विस्तारित रूप ६के क्यामेरा ल्याउने तयारी गरेको अस्लेशाले अहिले थ्रीडी क्यामेरा एक सेट सहित तीन वटा रेड ४के र एउटा पिएमडब्लू ३५० सेट उपलब्ध गराउँदै आएको छ ।
| Dirgha Khadka |

छोटो समयमा नै फिल्मकर्मीको मन जितेको अस्लेशा इन्टरटेन्मेन्टको पहिलो प्रोजेक्ट भिसा गर्ल हो । इक्विपमेन्ट पहिलो पटक मिसन पैसा रिलोडेडले प्रयोग गरे पनि पोस्ट सहितको सम्पूर्ण काम भिसा गर्लबाट भएको विश्वले बताए । अहिले उक्त प्रोडक्सन कम्पनीमा पछिल्लो समय चर्चामा रहेको फिल्म छड्के सहित प्रदर्शनको क्रममा रहेका रिदम, मञ्जरी, कारा, झोले, लभ फरईभर, सेफ ल्याण्डिङ लगायतका फिल्मको काम भईरहेको छ भने झोला फिल्मको सुटिङ चलिरहेको छ ।
कम्पनी स्थापनाको करिब ८ महिनामा नै राम्रो राम्रो प्रोजेक्टमा काम गर्न पाएकोमा खुसी व्यक्त गर्छन् विश्व गौचन । यो कम्पनी स्थापना भने आफ्नै दाजु ओमकार गौचनको सहयोग र साथले भएको विश्वको भनाई छ । उनी भन्छन्, 'दाई क्यामेरामा दक्ष हुनु भएकाले मलाई काम गर्न सजिलो भएको हो ।' अंग्रेजी तथा हिन्दी फिल्ममा काम गरिसकेका ओमकार अमेरिका स्थित न्यूयोर्कमा बस्छन् । अस्लेशा इन्टरटेन्मेन्टका मुख्य सञ्चालक पनि उनी नै हुन् ।
| Bishwa Gauchan and Dirgha Khadka |

यता पहिलो फिल्म चपली हाईटबाट फिल्मीखबर डिजिटल अवार्डमा उत्कृष्ट सम्पादकको अवार्ड हात पारेका दीर्घ खड्का अस्लेशाका अफिसियल सम्पादक हुन् । उनले अस्लेशामा आएका अधिकांश फिल्मको सम्पादन गर्ने गरेका छन् । उनी नेपालको पहिलो थ्रीडी फिल्म भिजिलान्तेका सम्पादक समेत बनेका छन् । 'दीर्घको कामबाट प्रभावित भएर नै मैले अफिसियल सम्पादक बनाएको हुँ', विश्वले भने ।

