लुट स्टार गोप्ले अर्थात् दयाहाङ राईले नेपालको पहिलो थ्रीडी फिल्म भिजिलान्तेको पहिलो दर्शक भएर अनुभव लिएका छन् । अनामनगर स्थित उनी अध्यक्ष रहेको मण्डला थिएटरमा आज गोप्लेले पहिलो थ्रीडी फिल्मको ट्रेलर अनुभव मिडियाको उपस्थिती माझ लिएका हुन् । उनी सहित थ्रीडी फिल्मको पहिलो अनुभव लिनेमा चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष शान्ति प्रिय र प्रोड्यूसर अर्जुन कुमार रहे । गोप्ले भिजिलान्तेको फष्टलुक पोष्टरलाई समेत प्रमुख अतिथि भएर अनावरण गरेका थिए ।
सुपरहिट फिल्म चपली हाईट डिरेक्टर दीपेन्द्र के. खनालको यो नयाँ प्रयासलाई गोप्लले निकै प्रशंशा गरे । उनले मिडिया तर्फ फर्किदै भने- 'तपाईहरुलाई हेर्दा पनि मेरो आँखा तिरमिराईरहेको छ त्यसैले कति राम्रो बन्यो भन्ने शब्द छैन ।' यस्तै पत्रकार शान्तिप्रिय र अर्जुन कुमारले हिन्दी र अग्रेजीमा फिल्मको थ्रीडी फर्मयाट हेरे बराबारको अनुभव यो ट्रेलरले दिलाएको बताए ।
चैत्र ९ को रिलिज डेट टार्गेट यो फिल्म जेम्स क्यामरुनको अवतार निर्माण प्रक्रियाको टेक्नोलोजीमा आधारित रहेको निर्माण पक्षले दाबी गरेको छ । सन् २००९मा भित्रिएको स्टेरियो थ्रीडी फर्मयाटबाट बनाईएको यो फिल्म काठमाण्डूका प्रमुख दुई मल्टीप्लेक्स क्यूएफएक्स सेन्ट्रोल र एफक्यूव हलमा प्यासिभ थ्रीडी फर्मयाट अन्र्तगत पोलोराईजड ग्लाशको सहायताले हेर्ने बाताबरण तय गरिएको प्रेस मिटमा जानकारी गराईयो । यसैगरी देशभरिका अन्य हलहरुमा चाहि यो फिल्म एनाग्लिफ फर्मयाट अन्र्तगत रेड साईन ग्लाशको सहायताले हेर्नु पर्ने हुन्छ ।
नेपाली फिल्म ईन्डष्ट्रीको विकास क्रममा फर्केर हेर्दा सुनौलो अक्षरले लेख्ने गरी थालिएको दीपेन्द्रको यो कदमलाई प्रेस मिटमा उपस्थित मिडिया पर्सनहरुले समेत मुक्त कण्ठले प्रशंशा गरेका थिए । अत्याधिक चुनौतीका बाबजुत आफूले यो फिल्म तयार गर्न सफल भएको प्रेस मिटमा निर्देशकको भनाई थियो । यो फिल्मको स्क्रिप्ट २ महिनाको अध्ययन र छलफल पश्चात सात महिना लगाएर शान बस्न्यातल लेखेका हुन् । जसलाई पर्दामा उतार्ने महत्वपूर्ण काम स्टिरियोग्राफर भएर पुरुषोत्तम प्रधानको हो ।
आस्मा फिल्मसको ब्यानरमा निर्मित यो फिल्म नन लाईनर प्रजेन्टेशनलाई आत्मसाथ गर्दे थ्रील शैलीमा तयार गरिएको बताईएको छ । फिल्मको पोष्टप्रोडक्सन थ्रीडी सर्पोटिङ टेक्नोलोजीमा अष्लेशा इन्टरटेनेमेन्टमा गरिएको हो । जसलाई भिजुअल एडिटरको रुपमा दीर्घ खड्काले कैची लगाएका छन् । फिल्मका लिडएक्टरहरु प्रियंका कार्की, मेनुका प्रधान, शिखा शाही, राज घिमिरे, सुवास थापा, शंकर अचार्य सहित ए गुरुङ हुन् ।








