Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आन्दोलन छोडेर फिल्मको प्रचारप्रसारमा उदय

रेम बिक, पोखरा, 2013/01/28

काठमाण्डौमा अहिले फिल्मकर्मीहरुको आन्दोलनले उचाई लिईरहेको छ । नेपाल चलचित्र विकास बोर्डमा सरकारी रुपमा धर्मेन्द्र मरवैता (पप्पु)लाई नियुक्त गरेपछि त झन् फिल्मकर्मीहरुको आन्दोलन अझै चर्किएको छ । निरन्तररुपमा फिल्मकर्मीहरु रिले अनशनमा बसिरहेका छन् र सरकारलाई बोर्डमा फिल्म सम्बन्धि विज्ञ मान्छेलाई नियुक्त गर्नुपर्ने सहित विभिन्न ९ बुँदे माग अगाडी सारिरहेका छन् ।

 

कतिपय फिल्मको सुटिङ पनि आन्दोलनकै कारणले रोकिएको छ । तर यहि मेसोमा एउटा फिल्मको टिम भने बिन्दास रुपले आफ्नो फिल्मको प्रचारमा देश दौडाहामा निस्केको छ । चैतमा रिलिज गर्ने तयारीका साथ प्रचारप्रसार गरिएको फिल्म मञ्जरीको निर्माण टोली यसरी देश दौडाहामा निस्केको हो । निर्माता प्रदिप कुमार उदय, नरेश पाण्डे र निर्देशक गणेशदेव पाण्डेको टोलीले गण्डकी र धौलागिरीका विभिन्न स्थानमा पुगेर आईतबार नै हेटौडातर्फ प्रस्थान गरेको छ ।

 

‘जति आन्दोलन गरे पनि सरकारले विकास बोर्डमा दिने नियुक्ति राजनीतिक नै हुन्छ र आन्दोलनको बेवास्ता गर्ने काम हुन्छ', सोमबार पोखरामा भेटिएका निर्माता उदयले भने–‘त्यसैले कुनै माग पुरा नहुने आन्दोलन गरेर काठमाण्डौमा बस्नुभन्दा यहि मेसोमा देश दौडाहामा निस्कनु उपयुक्त ठानेर हामी काठमाण्डौ बाहिर निस्किएका हौँ ।’ आफुहरुले अहिले विभिन्न हलहरुमा भिजिट गर्नुको पछाडी रिलिजको छेकोमा फिल्मको प्रचारप्रसार गतिलो रुपमा होस् भन्ने हेतु रहेको उनले बताए ।



काठमाण्डौमा हाल चलिरहेको आन्दोलनको बारेमा बोल्दै उदयले विकास बोर्डको अध्यक्ष पदलाई मात्र ईश्यु बनाउनु भन्दा फिल्म क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा फिल्मकर्मीहरुले जोड दिनुपर्ने तर्क राखे । उनले फिल्म उद्योगका विकासका लागी विकास बोर्डलाई पुकार्नु भन्दा फिल्मकर्मीहरु नै एक हुनुपर्नेमा समेत जोड दिए । अनौपचारिक रुपमा भएको कुराकानीको क्रममा निर्माता उदयले हाल भैरहेको आन्दोलनमा केहि व्यक्तिहरु निहित स्वार्थ सहित सहभागी भएको आरोप समेत लगाए । यो समयमा निर्माण भएर हलमा प्रदर्शनमा आएका कुनै पनि फिल्मले गतिलो व्यापार नगरेको अवस्थामा फिल्मकर्मीहरुले फिल्मको व्यापार कसरी बढाउन सकिन्छ भन्ने विषयमा गम्भिर हुनुपर्ने उनले बताए ।



सरकारले भर्खरै विकास बोर्डमा नियुक्त गरेका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु)को विषयमा समेत बोल्दै उनले बोर्डको अध्यक्षले पहिलो पटक मिडियामा बोलेको कुरा शंकास्पद भएको बताए । ‘वोर्डमा जो सुकै अध्यक्ष भएर आए पनि फिल्मसिटिको कुरालाई अगाडी ल्याउँछन्', निर्माता प्रदिप उदयले भने– ‘जुन मुद्धा आउटडेटेड भैसकेको छ ।’ अहिलेको अवस्थामा फिल्मकर्मीलाई मख्ख मात्रै पार्ने गफ दिनुभन्दा फिल्म उद्योगलाई कसरी व्यवसायिक र गतिलो बनाउन सकिन्छ भन्ने योजना अगाडी ल्याउनुपर्ने देखिएको उनको तर्क छ । यद्यपी सरकार परिवर्तन संगै परिवर्तन हुने बोर्ड अध्यक्षले जति राम्रा योजनाहरु अगाडी सारे पनि त्यो पुरा हुन असंभव जस्तै भएको उनले बताए । बोर्डमा राजनीतिक नियुक्ति रोकिएको खण्डमा मात्र फिल्मको लागी सरकारी तर्फबाट केहि राम्रा कामहरु हुनसक्ने उनको भनाई छ ।



फिल्म मन्जरीको युनिट नारायणघाट, हेटौडा हुँदै पुर्वको दमकसम्म पुग्ने कार्यक्रम रहेको फिल्मका निर्देशक गणेशदेव पाण्डेले जानकारी दिए । आफुहरुले नेपाली पन र नेपाली मन भएको फिल्म निर्माण गरेका कारण मन्जरी दर्शकहरुले मन पराउनेमा समेत पाण्डे ढुक्क देखिए । फिल्ममा गौरव पहारी, सुजाता कोईराला लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।