घुम्दै फिर्दै फिल्मकर्मीहरुको आन्दोलन पुनः आमरण अनसनमा फर्किने भएको छ । पौष २ गते निर्देशक समाजका अध्यक्ष विमल पौडेलले सुरु गरेको आमरण अनसनबाट सरकारले केही लचकता देखाए पनि कार्यान्वयन नगरेपछि फिल्मकर्मीहरु पुनः आन्दोलित हुँदै आमरण अनसनमा उत्रिन लागेका हुन् ।
चलचित्र बिकास बोर्डको प्राङगणमा गत शुक्रबार देखि रिले अनसनमा उत्रिएका फिल्मकर्मीहरुको अनसन जारी रहँदा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिईएको हो । 'अबको आन्दोलन रिलेबाट पुनः आमरणमा जाने भएकाले सवैको सहभागिता र साथको लागि अनुरोध छ', संयूक्त आन्दोलन संघर्ष समितिका प्रवक्ता नवल खड्काले भने । यस्तै नवलले हिजो देखि आन्दोलनबाट बाहिरिएको चलचित्र संघको सो कदमलाई संघर्ष समितिले घोर भर्तसना गरेको प्रेस रिलिज पढ्दै सुनाए ।
जारी गरिएको प्रेस रिलिजमा चलचित्र संघलाई लक्षित गरि नौ बुँदे मागहरुमा हिजोको दिन सम्म दिएको साथलाई धन्यवाद भनी उल्लेख गरिएको छ भने हतास मानसिकता भएका केही ब्यक्तिहरुको कारण मागहरुको अपब्याख्या गर्दै ती मागहरुको स्पिरिटलाई चुनौती दिदै धोकापूर्ण तरिकाले आन्दोलनबाट बाहिरिनुलाई ठूलो दुर्भाग्य भनेको छ संघर्ष समितिले । यस्तै संघर्ष समितिले आन्दोलनबाट बाहिरिएको निर्णयलाई पुर्नविचार गरी राष्ट्रिय चलचित्र उद्योगको पक्षमा उभिन चलचित्र संघलाई आज आग्रह पनि गरेको छ ।
.jpg)
यता चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले फिल्मीखबरसंगको कुराकानीमा सो आग्रह मान्य हुनलाई स्वयम संघर्ष समितिले नौ बुँदे माग प्रति पुर्नविचार गर्नुपर्ने बताएका छन् । पोखरेलले मुल मुद्धा बोर्ड अध्यक्ष प्राप्ती माथि केन्द्रित हुनु भन्दा बाहिरी मुद्धातर्फ संघर्ष समिति लम्कदै राजनीतिकरण भईदिदा आफूहरु आन्दोलनबाट बाहिरिएको तर्क गरे । उनले भने- 'पुर्नविचार हामीले गर्ने हैन उहाँहरुले गर्ने हो, त्यसैले हामी फिर्ता हुनलाई स्वयम उहाँहरुले माग प्रति पुर्नविचर गर्नुपर्छ ।' चलचित्र संघले विज्ञ बोर्ड अध्यक्ष नियुक्तको बुँदा बाहेक अन्य बुदामा पुनः आपत्ती जनाएकाले यो नयाँ विवाद सृजना भएको हो ।

सहमतिको उच्च वाताबरणका बीच केही कुटनीतिक चाल नचालिदा गठबन्धनबाट चलचित्र संघ बाहिरिनुले आन्दोलनमा केही असर परेको छ । यध्यपी चलचित्र संघ बाहिरिए लगत्तै नेपाल संगीत निर्देशक संघ, गीतकार संघ नेपाल र प्रस्तोता गायन समाज नेपालले आजबाट आन्दोलनमा आफ्नो सहभागिता जनाएको छ । आजबाट संघर्ष समितिमा १३ वटा संघसंस्थाको सहभागिता भईदिदा शक्ति बढेको संघर्ष समितिले जनाएको छ ।
आईतबार देखि रत्नपार्क शान्ति बाटिकामा हुने आमरण अनसनसंगै सुटिङ, पोष्टप्रोडक्सन, रेकर्डिङ लगायत फिल्म संग सम्बन्धीत सवै कार्यहरु बन्द गराउने निर्णय पनि संघर्ष समितिले गरेको छ । आज बिमलेश अधिकारी, बेनिशा हमाल, सुभेच्छा थापा, किरण दाहाल, महेश गोदार र पंकज राज केसी अनसनमा छन् ।

