Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आन्दोलनमा दबाव बढाउन बोर्डका तीन सदस्यलाई राजिनामा गर्न लगाईने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/23

चलचित्र बिकास बोर्डमा सदस्यको रुपमा नियुक्त भएका तीन फिल्मकर्मी विकास आचार्य, निलहरी काफ्ले र रामा मण्डलको राजिनामा गराईने तयारी भएको छ । संयूक्त आन्दोलन संघर्ष समितिको हिजो साँझ बसेको बैठकले आन्दोलनलाई सफल बनाउन एवं सरकारलाई दबाव दिनका लागि उनीहरुको राजिनामा माग्ने तयारी गरेको हो ।

 

'हामीले उहाँहरुसंग लिखित रुपमै राजिनामा दिएर आन्दोलनमा सघाऊ पुर्‍याउन अनुरोध गर्ने निर्णय गरेका छौं, तसर्थ यो निर्णय भएमा उहाँहरुको ठूलो योगदान र त्याग हुनेछ अहिलेको अवस्थामा', संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलले भने । यता बोर्ड सदस्य मध्येका एक निलहरी काफ्लेले पनि आन्दोलन जायज देखिएकाले आन्दोलनकर्मीहरुको आग्रहलाई स्वीकार गर्न सकिने संकेत गरेका छन् ।

 

विगत तीन हप्तादेखि उपत्यका बाहिर रहेकाले उनी हिजो साँझ मात्र काठमाण्डू आएका हुन्, तसर्थ आन्दोलनमा उपस्थित हुन नपाएका उनी बुधबार देखि भने आन्दोलनमा आफ्नो सहभागिता पनि जनाउदैछन् । तर, उनले संयूक्त राजिनामाको बिषयमा भनेका छन्- 'हामी तीन जनाको छलफल एक पटक आवश्यक रहेकाले त्यसपछि मात्र औपचारिक निर्णय आउने छ ।'


यस्तै हिजो रातिको बैठकले आन्दोलनमा आर्थिक संकलनका लागि प्राविधिक संघका अध्यक्ष मनोज केसी,द्धन्द कलाकारसंघका अध्यक्ष  योगेन्द्र श्रेष्ठ  र नृत्यकार संघका अध्यक्ष दिनेश पाख्रिनको अगुवाईमा आर्थिक संकलन समिति समेत गठन गर्ने निर्णय गरेको छ । यसैगरी हिजो रातिको बैठकले मुख्यसचिव र प्रधानमन्त्रीलाई समेत भेट गरी ज्ञापन पत्र दिने निर्णय पनि गरेको छ ।