Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

कलिउड भित्रका पत्रकारको फिल्म अनुभव

फिल्मीखबर, काठमाण्डौ, 2013/01/22

सुटिङका हिसाबले 'बधाई छ तिमीलाई' फिल्मबाट कलिउड नगरीमा प्रवेश गरेका नवनायक बिष्णु कार्कीलाई दर्शकले भने 'कलिउड' फिल्ममा पहिलो पटक देखे । दर्शकले उनको अभिनय क्षमतालाई रूचाए या रूचाएनन् त्यसको लेखाजोखा हुँदै जानेछ तर नायक कार्की भने आफ्नो कामबाट सन्तुष्ट छन् ।

 

'मैले आफ्नो तर्फबाट १०० % दिने कोसिस गरेको थिएँ, नढाँटी भन्दा दर्शकले मेरो कामलाई ९५ % रूचाएको पाएँ', नायक कार्कीले फिल्म कलिउडको बारेमा बोले- 'यो फिल्ममा दर्शकले देखेको कमजोरीलाई अर्को फिल्ममा सुधार्ने छु ।' फिल्म कलिउड भित्र पत्रकारिताको पेशामा देखिएका बिष्णुले वर्तमान पत्रकारिताको प्रतिनिधित्व आफ्नो भुमिकाले गरेको बताए । उनले भने, 'नेपालको पत्रकारितामा भएका केहि कमिकमजोरी र राम्रा पक्षलाई हामीले देखाउने प्रयास गरेका छौं जसलाई धेरैले रूचाउनु भएको पनि छ ।'

 

आफू निर्माता नभए पनि आफ्नो पेशा व्यवसाय नै भएकाले फिल्मले गरेको व्यवसायको बारेमा चासो दिईरहेको बताउँदै नायक कार्कीले देशभरबाट फिल्मले गरेको व्यवसायमा सन्तुष्ट हुने ठाउँ रहेको बताए । उनले भने, 'कति स्थानमा निकै राम्रो भएको छ भने कति ठाउँमा ठिकै भएको छ । औसतमा भन्दा फिल्मले राम्रो व्यवसाय गरिरहेको छ ।' तर, उधोगमा राम्रो भन्दा नराम्रो कुराको टिप्पणी बढि हुने भएकोले आफ्नो फिल्मलाई नराम्रो भन्नेहरूको जमात पनि पाएको उनको भनाई छ । उनी भन्छन्, 'दशमा एउटा गल्ति भेटियो भने त्यहि एउटा गल्तिलाई नै ठूलो बनाईन्छ जसले गर्दा हामी जस्ता नवप्रवेशी कलाकार तथा प्राबिधिकलाई यि कुराले केहि निराश बनाउँछ ।'

 

अभिनयलाई मुख्य पेशा बनाउन नचाहे पनि समय मिलाएर फिल्ममा अभिनय गर्ने उनी बताउँछन् । हाल कतारमा फूलको व्यवसाय गर्दै आएका कार्कीले अब छिट्टै नै एक्सन श्रेणीको 'दि लास्ट रिङ' फिल्ममा काम गर्ने बताए । आफूलाई एक्सन फिल्म निकै रूची भएकाले पनि यो फिल्म गर्न एक्साईटेड भएको बताए । हाल यो फिल्मको प्रि-प्रोडक्सनको काम भईरहेको उनको भनाई छ ।

 

नेपाली फिल्म क्षेत्रको बिषयलाई उठान गरेर निर्माण गरिएको फिल्म 'कलिउड' मा बिष्णुको साथमा आर्यन सिग्देल, प्रियंका कार्की र पायल थापाको मुख्य भुमिका रहेको छ । हाल देशका थुप्रै हलमा रिलिज भईरहेको यो फिल्मलाई नवराज आचार्यले निर्देशन गरेका हुन् भने निर्माण टंक बहादुर कार्की, नरेन्द्र सिंह ठकुरी र विशाल श्रेष्ठले गरेका हुन् ।