२०६० फागुन ५ मा १५ जना सैनिकले पक्राउ गरि पाँचखालस्थित ब्यारेकभित्रै चरम यातना दिएर बलत्कार पश्चात हत्या गरिएकी काभ्रेको खरेलथोककी १५ बर्षिया मैना सुनुवारको घटनालाई महिला अधिकारकर्मी, बिभिन्न स्कुल तथा कलेजका प्राध्यापक तथा सञ्चारकर्मीहरूले नजिकबाट बुझ्ने मौका पाए ।
सोमबार साँझ बिभिन्न स्कुल तथा कलेजका प्राध्यापकहरूले नेपाल चलचित्र संघको भवनमा र महिला अधिकारकर्मीहरूले सञ्चारिक समूहको कार्यालयमा बिभिन्न पत्रपत्रिकामा पढेको मैनाको घटनालाई श्रव्यदृश्य मा माध्यमबाट नजिकबाट बुझ्ने मौका पाए । फिल्म हेरे पश्चात उच्च माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष स्वागत श्रेष्ठले मैनाको मार्मिक घटनालाई फिल्म मार्फत प्रस्तुत गरेकोमा निर्देशक केपी पाठकलाई धन्यवाद दिए । उनले मायाप्रेमका फिल्म भन्दा मैना फिल्म निकै राम्रो लागेको बताए । उनले भने, 'उठाईएको यो मुद्दाले सरकारलाई झकझकाउन सके धेरै राम्रो हुन्थ्यो ।'
यता आफूले उठाएको महिला हिंसाको मुद्दालाई हेरेका सबैले रूचाएको आफू केहि हदसम्म सफल भएको निर्देशक पाठकको भनाई छ । फिल्ममा अनिता केसीले मैनाको भुमिका निर्वाह गरेकी छिन् । अनिताको साथमा सो फिल्ममा गोविन्द प्रभात, राधा श्रेष्ठ, सौरभ चौलागाई लगायतले अभिनय गरेका छन् । द्वन्द्वको तत्कालीन परिवेश र पृष्ठभूमिमा आधारित 'मैना'को कथालाई पटकथामा ढाल्न लेखक नयनराज पाण्डेले साथ दिएका छन् । केपी पाठक, जीवनाथ सुवेदी र तेजनारायण सापकोटाले निर्माण गरेको यो फिल्मलाई फाल्गुन ४ गतेबाट देशभरका अधिकांश हलमा सार्वजनिक प्रदर्शन गरिंदै छ ।

