बिशुद्ध नेपाली पनको कथा बोकेर निर्माण गरिएको फिल्म 'रिदम'को आगामी शनिबार अष्ट्रेलियाको सिड्नीमा प्रिमियर गरिने भएको छ । ब्ल्याक मेल फिल्मको प्रिमियर गरे पश्चात '+977'ले यो फिल्मको प्रिमियर आयोजना गर्न लागेको हो ।
अष्ट्रेलियाबाट प्रकाशन गरिएको '+977 लाईफ स्टाईल' म्यागजिनका प्रकाशक कुशल केसीले दिएको जानकारी अनुसार सिड्नीको स्थानिय समय अनुसार दिउँसो ३ बजे र साँझ ६ बजे फिल्म प्रदर्शन गरिने छ । सिभिक थिएटरमा हुन लागेको उक्त प्रिमियर समारोहमा फिल्मका नायक जीवन लुईटेल सहभागी हुनेछन् । नेपाली फिल्म र गीतसंगीतलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेकाले प्रिमियरको आयोजना गरेको आयोजक '+977 लाईफ स्टाईल' म्यागजिनका प्रकाशक केसीले फिल्मीखबरलाई जानकारी गराए ।
विकास आचार्यको लेखन तथा निर्देशन रहेको 'रिदम'मा जीवनको साथमा विल्सन विक्रम राई, स्वेता भट्टराई, निर शाहको साथमा नवप्रस्तुती सोहित मानन्धर र निश्मा घिमिरे सहित बालकलाकार अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । बसन्त सापकोटाको संगीत रहेको यो फिल्मलाई वान टाईम सिनेमा प्रालीको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् । देशको माया र नेपाली हुनुको गौरवलाई देखाउन खोजिएको फिल्म रिदमलाई नेपालमा फाल्गुन महिनामा रिलिज गरिने निर्देशक आचार्यले जानकारी दिए ।

