आन्दोलनमा उत्रेका फिल्मकर्मीलाई प्रहरीले दिनभर नियन्त्रणमा लिएर साँझ छोडिदिएको छ । प्रहरीको हिरासतबाट मुक्त भए लगत्तै ६ जना फिल्मकर्मीले रिले अनशन शुरू गरेका छन् ।
बिहिबार विकास बोर्डमा आन्दोनलमा उत्रेका करिब डेढ सय फिल्मकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला चौकी पुर्याएको थियो । दिनभर चौकीमा राखे पछि प्रहरीले साँझ साढे छ बजे उनीहरूलाई भोलीबाट आन्दोलन नगर्नुस् भन्दै छोडेको हो । तर आन्दोलनरत फिल्मकर्मीले माग पूरा नभएसम्म आफ्नो आन्दोलनलाई जारी राख्ने बताएका छन् । यहि आन्दोलनलाई जारी राख्दै लक्ष्मी गिरी, सुभाष गजुरेल, सुरेशदर्पण पोखरेल, मुकेश ढकाल, ऋचा सिंह ठकुरी र कुमार सिलवालले बोर्डको प्राङणमा रिले अनशन शुरू गरेका छन् ।
.jpg)
उनीहरू पाल टाँगेर चोसो भुईंमा अनसन बसेका छन् । रिले अनसनमा उत्रेका यि आधादर्जन फिल्मकर्मी पाल टाँगेर चोसो भुईंमा बसेका छन् । २४ घण्टा पश्चात उनीहरूलाई अन्य फिल्मकर्मीले पालो दिने आन्दोलनको नेतृत्व गरिरहेका निर्देशक सुरेश दर्पण पोखरेलले जानकारी गराए । यस्तै उनले बिहान आफूहरू रिले अनशनमा बस्दा प्रहरीले जबर्जस्ती उठाएर लगेको प्रति घोर भर्तसना समेत गरेका छन् । उनले मानवअधिकारकर्मीहरूको ध्यानाकर्षण पनि गराएको बताए । उनले भने,'रिले अनशनमा बसेकाहरूलाई प्रहरीले हस्तक्षेप गर्न पाउँदैन तर हामी माथी भयो । त्यसैले हामीले आफ्नो अधिकारमाथी हस्तक्षेप भएकाले मानवअधिकारकर्मीको ध्यानाकर्षण गराएका छौं ।'
आन्दोलनलाई साथ दिन फिल्मकर्मीहरूलाई आग्रह गर्दै पोखरेलले शनिबार सम्पूर्ण फिल्मको सुटिङ बन्द गर्ने बताए । यस्तै चलचित्र संघसँग छलफल गरि आईतवार या सोमबार देशभरका हल एक दिनका लागि बन्द गर्ने कुरा भईरहेको समेत जानकारी गराए । यता अनसनमा बसेका फिल्मकर्मीलाई आएरल्यान्डका एनआरएन अध्यक्ष गणेश प्रसाईंले रू ५० हजार नगद सहयोग गरेको सुरेशको भनाई छ । यस्तै फिल्म लंकाका निर्माताद्धय मालती शाह र शुशिल शाहले पनि रू १०/१० हजार सहयोग गरेका छन् ।

