भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म कलिउडले नेपाली फिल्म उधोग (कलिउड)को मज्जैले व्यङ्ग्य गरेको छ । बिहिबार साँझ चावहिल स्थित एफक्यूब सिनेमा हलमा गरिएको प्रिमियर हेरे पश्चात यस्तो देखिएको हो ।
फिल्मले पूरै उधोगको भन्दा पनि कलाकार र पत्रकारको पेशालाई बढि व्यङ्ग्य गरेको छ । फिल्मका पात्रले निर्वाह गरेको भुमिकाले थुप्रै कलाकारको प्रतिनिधित्व गरेको झल्किन्छ । फिल्म शुरू हुनु पूर्व 'यस घटनाका पात्रहरू काल्पनिक हुन । यदि कसैको जीवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ' भन्ने कुरा उल्लेख नगरिएकाले फिल्मले कलिउड भित्रको कुरालाई फिल्म मार्फत दर्शकसामु पस्किन खोजेको बुझ्न सकिन्छ ।
फिल्म कलिउडबाट डेब्यू निर्देशक नवराज आचार्यले राम्रो संभावना देखाएका छन् । माघ १ गते राजधानी बाहिरका केहि हलमा प्रदर्शन भईसकेको यो फिल्म भोलीबाट ३ दर्जन भन्दा बढि हलमा लाग्नेछ । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्कीको साथमा नयाँ दुई अनुहार पायल थापा र बिष्णु कार्कीको मुख्य भुमिका रहेको छ । फिल्ममा शिशिर राणा, सुब्रत आचार्य सहित थुप्रै सेलिब्रेटीहरूको बिशेष भुमिका रहेको छ । पूर्व मिस नेपाल मलिना जोशीको आकर्षक नृत्य पनि फिल्ममा हेर्न सकिनेछ ।
टंक बहादुर कार्की, कुमार कार्की, नरेन्द्र सिंह ठकुरी र विशाल श्रेष्ठको संयुक्त लगानी रहेको कलिउडमा शब्द तथा संगीत प्रदीप बाँस्तोलाको रहेको छ भने छायाँकन हरि हुमागाईंको रहेको छ । रेनशा वान्तवा राईको नृत्यनिर्देशन रहेको यो फिल्मको कथा निर्देशक आचार्य सहित ब्रजेश खनाल र अनुप सापकोटाले तयार पारेका हुन् ।

