Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

फिल्म खिच्न नेपालबाट अष्ट्रेलिया

रेम बिक, पोखरा, 2013/01/12

फिल्ममा पर्दा पछाडी काम गर्नेहरु त्यति चर्चामा आएको पाईदैँन । लाईटम्यान, स्पटब्वाई, ड्रेसम्यान लगाएतका फिल्मका लागी अभिन्न अंगहरुको त कुरै छोडौँ, फिल्मलाई जतिसक्दो राम्रोसंग खिचेर दृश्यलाई दर्शकहरुको आँखा नबिझाउने बनाउनका लागी खट्ने सिनेम्याटोग्राफर पनि चर्चाको हिसाबले निकै पछाडी नै हुन्छन् । तर, यो मामलामा सिनेम्याटोग्राफर सुशन प्रजापति भने अपबाद हुन् ।

प्रजापतिले नेपाली फिल्म ‘अपबाद’बाटै सिनेम्याटोग्राफरको रुपमा डेब्यु गरे । उनको आफ्नै लगानीमा बनेको फिल्म ‘अपबाद’ले प्रदर्शनताका सिनेम्याटोग्राफिबाटै चर्चा कमाएको थियो । यसले पनि फिल्म खिच्छ र ? भन्दै धेरैले नाक खुम्च्याउने क्यानोनको सेभेन डि क्यामेराबाट निकै राम्रो क्वालिटिको पिक्चर निकालेपछि सुशन प्रजापति धेरैको नजरमा परे । हुन पनि फिल्म वृत्तमा सिनेम्याटोग्राफर प्रजापतिलाई सेभेन डि क्यामेराबाट फिल्म खिच्ने कुशल सिनेम्याटोग्राफरको रुपमा लिईन्छ ।

प्रजापतिले यो बिचमा अपबाद पछि जोयस पाण्डे निर्देशित फिल्म साँघुरो, शुन्य, आफ्नै सहलगानी भएको अर्को फिल्म कर्कश र रामराजा दाहाल निर्देशित फिल्म ‘नेपथ्य’ खिचिसकेका छन् । उनको सिनेम्याटोग्राफिबाट मोहित भएपछि एनआरएन निर्देशन मनोज अधिकारीले पनि आफ्नो डेब्यु निर्देशन फिल्ममा प्रजापतिलाई नै लिने भएका छन् । अष्ट्रेलियामा छायाँकन हुने फिल्म ‘ऋतु’को सिनेम्याटोग्राफिका लागी अधिकारीले प्रजापतिलाई केहि समय अगाडी नै साईन गराईसकेका थिए । सोहि फिल्म खिच्नका लागी प्रजापति शुक्रबार राती ११ बजे अष्ट्रेलिया उडेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार ऋतुको शनिबार मुर्हत हुनेछ ।

‘यसरी सिनेम्याटोग्राफिकै लागी विदेश जान लागेको म पहिलोपटक हो', अष्ट्रेलिया जानका लागी एअरपोर्ट पुगेका प्रजापतिले फोनमा भने–‘मलाई निकै नौलो अनुभव भैरहेको छ ।’ सिनेम्याटोग्राफिमा आफ्नो कुशलता देखेकै कारण अष्ट्रेलियाबाट आफुलाई बोलाएको उनको विश्वास छ । निर्माणपक्षले आफुलाई विश्वास गर्दै नेपालबाट अष्ट्रेलियासम्म मगाएको कुरालाई नबिर्सिई आफुले अझै राम्रो काम गरेर देखाउने उनले बताए । ऋतुकै लागी मिस नेपाल मलिना जोशी र नायिका रिमा विश्वकर्मा अष्ट्रेलिया पुगिसकेका छन् । फिल्ममा राजवल्लभ कोईराला मुख्य नायकको रुपमा रहेका छन् । ‘भिसाका कारण मेरो केहि दिन ढिलाई भएको हो', उनले भने–‘अब करिब एक महिनासम्म अष्ट्रेलियामै रहन्छु होला ।’

प्रजापति फिल्म कलेजमा सिनेम्याटोग्राफिको अध्ययन सकाएर यस क्षेत्रमा प्रवेश गरेका हुन् । पुरै सिनेम्याटोग्राफरको रुपमा अपबादमा आएपनि उनले त्यसभन्दा अगाडी असिस्टेन्ट क्यामेराम्यानको रुपमा धेरै अनुभव बटुलिसकेका छन् । उनले सिनेम्याटोग्राफिमा असिस्ट गरेका फिल्महरु मेरो एउटा साथी छ, के यो माया हो र मेरो लभस्टोरी हुन् ।