चलचित्र बिकास बोर्डको अध्यक्षमा रेखा थापा नियुक्त हुने प्रसङ्ग बाहिरिएसंगै उनको तीब्र आलोचना सुरु भएको छ । आफू यो क्षेत्रमा विगत १२ बर्षदेखि निरन्तर सक्रिय रहदै हिरोईनहरुको नेतृत्व गरिरहेको दावी सहित रेखा थापा प्रधानमन्त्रीको लविङमा लागिरहेकी अवस्थामा उनको आलोचना सुरु भएको हो । यसै बीचमा अधिकांश फिल्मकर्मी फिल्म जगतको हितको पक्षमा आन्दोलनमा उत्रिएका बेला रेखाले प्रधानन्त्री बाबुराम भट्टराईलाई सुटुक्क भेटे पश्चात उनको सो कदम प्रति फिल्मकर्मी आक्रोशित भएका हुन् ।
'सबैको हित हुने आन्दोलनमा आउनु छैन प्रधानमन्त्रीलाई भेटर अध्यक्ष बनाईदेऊ भन्नु कहाँ सम्मको जायज ?', कालो पट्टी बाधीरहेको अवस्थामा कलाकार संघका अध्यक्ष नवल खड्काले प्रति प्रश्न गर्दै बिहिबार प्रतिक्रिया दिए । नवलले सवै झुसिल किरा पुतली हुँदैनन् र सवै फिल्मकर्मी विज्ञ हुँदैनन भन्ने तर्क गर्दै रेखा बोर्ड अध्यक्ष हुन लायक नरहेको कडा प्रतिक्रिया पनि दिएका छन् ।
यसैगरी रेखा बोर्ड अध्यक्षमा नियुक्त भएमा आफ्नो ब्यक्तिगत तर्फबाट सहयोग नहुने निर्देशक समाजका अध्यक्ष विमल पौडेलको पनि भनाई छ । 'मेरो ब्यक्तिगत तर्फबाट पनि रेखा बोर्ड अध्यक्षका लागि परिपक्व छैनन् त्यसैले उनलाई नियुक्त गरियो भने यसमा मेरो समर्थन रहन्न', पौडलले भने । विमल संगै समाजका सचिव एम.एस अग्रजले पनि बोर्ड अध्यक्षमा रेखा नियुक्त भएमा आफ्ना लागि स्वीकार्य नहुने तर्क गरेका छन् ।
उता प्रोड्यूसर सुनिल रावलले पनि रेखाको नियुक्त सम्भावनालाई पूर्ण रुपमा विरोध जनाएका छन् । उनले भने, 'हिजो देखि तीन ढोकामा तीन वटा ताला लगाईएको छ यदि रेखालाई नियुक्त गरियो भने म आफै १२ वटा ताला लिएर आउनेछु ।' चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले पनि रेखाको नियुक्ति प्रक्रियालाई स्वीकार गर्न नसकिने बताएका छन् । उनले भने, 'उनको सक्रियता आफ्नो ठाँउमा छ तर सरकारसंग भएको चार बुँदे सहमतिमा लेखिए बमोजिम विज्ञ भन्ने शब्दले उनलाई बोर्ड अध्यक्ष हुनबाट स्वत बञ्चित गर्छ तसर्थ यो कुरामा मेरो पनि समर्थन रहन्न ।'
.jpg)
मनोज मात्र हैन बरिष्ठ अभिनेत्री बसुन्धरा भुषाल र लक्ष्मी गिरीले पनि अहिलेको अवस्थामा रेखालाई बोर्ड अध्यक्ष स्वीकार गर्न नसकिने प्रतिक्रिया दिएका छन् । मौसमी मल्लले पनि रेखा नीर शाहलाई अध्यक्ष बनाउने सवैको कसरत भईरहेको अवस्थामा रेखाले मन्त्री पावर युज गर्न खोज्नु गलत रहेको भनेकी छिन् । आन्दोलनको नेतृत्व गरिरहेको राष्ट्रिय चलचित्र संरक्षण मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलले सरकारसंग भएको लिखित सहमतिको मर्म बोजिम नियुक्त हुने ब्यक्तिलाई अध्यक्षमा स्विकार गर्ने बताएका छन् । उनले भने, 'ब्यक्ति को नियुक्त गर्ने भन्ने हाम्रो माग हैन कस्तो ब्यक्ति हुनुपर्छ भन्ने उदृत गरिएकाले सोही बमोजिमको सरकारको निर्णयलाई स्वीकार गरिनेछ ।'
यसैगरी निर्देशक आकाश अधिकारी र चलचित्र बिकास बोर्डका सदस्य विकास आचार्यले पनि रेखाको नियुक्ति प्रक्रिया सुरुवातमै आलोचनामा परेकाले सरकारी पक्षले यो बिषयमा सोचेर मात्र सहमति बमोजिम निर्णय गर्नुपर्ने तर्क गरेका छन् । उता फाईट मास्टर योगेन्द्र श्रेष्ठले मन्त्रीमण्डलले रेखालाई बोर्ड अध्यक्षमा नियुक्त गरे पनि त्यो भन्दा ठूलो मन्त्रीमण्डल आफूहरु रहेको भन्दै रेखा अध्यक्षमा नियुक्त भएको खण्डमा बोर्ड प्रवेश गर्न नदिईने बताएका छन् ।

