आउँदो शनिबारबाट अष्ट्रेलियाको सिड्नीमा फिल्म 'ऋतु'को सुटिङ शुरू हुने भएको छ । अष्ट्रेलियाबाट फिल्मको बारेमा औपचारिक जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तीमा जनाईए अनुसार आल्प इन्टरटेन्मेन्ट, प्लानेट ३ फिल्मस् र अपिल विष्ट फिल्म प्रोडक्सनले फिल्मलाई निर्माण गर्दैछ ।
.jpg)
अनलाइनमार्फत आयोजना गरिएको एक स्क्रिप्ट लेखन प्रतियोगिताबाट छनौट गरिएको संदिप बडाल लिखित स्क्रिप्टमा निर्माण गर्न लागिएको 'ऋतु'लाई अष्ट्रेलियामा बस्दै आएका एनआरएन मनोज अधिकारीले निर्देशन गर्दैछन् । अशोक गौतम, सुरज प्रधानको समेत लगानी रहने यो फिल्ममा राजबल्लभ कोईराला र रीमा बिश्वकर्माको साथमा पूर्व मिस नेपाल मलिना जोशीले नायिकाको रूपमा डेब्यू गर्दै अभिनय गर्नेछन् । फिल्ममा अष्ट्रेलियामै बसोबास गर्दै आएका बिष्णु न्यौपाने, कमल सिलवाल, बुल्सन लगायत थुप्रै नेपाली कलाकारहरुलाई पनि देख्न सकिनेछ ।

युगल जोडीको प्रेममा आउने उतारचढावको साथमा ऋतु बदलिए जस्तो गरेर बदलिरहने जीवनका तीतामीठा पलहरुलाई पर्दामा उतार्ने लक्ष्य राखेको निर्देशक अधिकारीले बताए । ऋतुका गीत अष्ट्रेलियामै बसोबास गर्दै आएका निस्प्रभ सजीले लेखेका हुन् भने संगीत सुजिल कर्माचार्य र सुदिप गिरीको रहने छ । फिल्ममा अभिनय गर्न नायक बल्लभ अमेरिकाबाट केहि दिन अगाडी अष्ट्रेलिया पुगिसकेका छन् भने नायिकाद्धय रीमा र मलिना पनि नेपालबाट अष्ट्रेलिया पुगिसकेका छन् । फिल्मको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा र बाँकी १० प्रतिशत नेपालमा गरिने बताईएको छ ।

