Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

नातिको फिल्मको पब्लिसिटीमा हजुरबा

फिल्मीखबर, काठमाण्डौ, 2013/01/03

सुन्दा नै रमाईलो लाग्छ कि नातिले अभिनय गरेको फिल्मको पब्लिसिटीमा हजुरबाले सहयोग गरे भन्दा । तर अष्ट्रेलियाको सिड्नी शहरमा यस्तै भयो । पछिल्लो समय चर्चामा आएका हाँस्य कलाकार तक्मे बुढाले आफैलाई बुढो र जवान बनाउँदै फिल्म रिदमको प्रोमोशन गर्न भ्याए ।

 

स्टेज कार्यक्रमका लागि हाल जापानमा रहेका विल्सन बिक्रम राई (तक्मे बुढा) ले फिल्मीखबरसँगको फोन सम्पर्कमा भने, 'हजुरबाको भेषमा स्टेजमा उपस्थित भएर दर्शकहरूलाई नातीले अभिनय गरेको फिल्म रिदम हेर्दिनुस् भनें ।' फाल्गुन महिनामा रिलिज हुने तयारीमा रहेको फिल्म रिदममा विल्सनको मुख्य भुमिका रहेको छ । उनले आफू अभिनित फिल्म दर्शकलाई हेर्न आग्रह गरेको बताउँदै भने- 'मेरो नाति केटोले नेपाली मन र नेपाली पनले भरिएको रिदम भन्ने फिल्म खेलेको छ एक पटक हेरिदिनु होला भनें ।'

 

 

तक्मे बुढाको भेषमा बुढाहरूको कथा सुनाएर दर्शकलाई हँसाउने जमर्को गरेको बताउँदै विल्सनले नाती केटो बनेर डान्स तथा अहिलेका युवाहरूको जीवनशैलीका बारेमा व्यङ्य गर्दै दर्शकलाई हँसाएको बताए । यस्तै विल्सनले सिड्नीमा कार्यक्रमको आयोजना गरेका नेपाल आदिवासी जनजाती, अष्ट्रेलियाका अध्यक्ष गणेश लामालाई रिदम लेखेको टिसर्ट पनि प्रदान गरे । उनले जापानमा पनि यहि प्रकारले नै दर्शकलाई मनोरञ्जन प्रदान गरेको जानकारी गराए ।

 


 

 

विकास आचार्यले निर्देशन गरेको फिल्म रिदममा विल्सनको साथमा जीवन लुईटेल, स्वेता भट्टराई, निर शाह, सोहित मानन्धर, निश्मा घिमिरे र बालकलाकार अनुभव रेग्मीको मुख्य भुमिका रहेको छ । नायक लुईटेल अहिले फिल्मलाई अष्ट्रेलियामा प्रिमियर गर्ने तयारीमा जुटिरहेका छन् । विल्सनले आफू यो फिल्ममा फरक भुमिकामा रहेकाले पनि पब्लिसिटीमा जुटेर लाग्ने बताए ।