Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली परिवेशको कथा `अध्याय`

रेम बिक, पोखरा, 2013/01/03

केहि नयाँ प्रस्तुती, नेपाली नाम र नेपाली परिवेश कै कथा भएको फिल्महरुले पछिल्लो समय दर्शकहरुको मन जितिरहेको छ । र, यस्तै नेपाली फिल्महरु ‘कपि पेस्ट’ गरिएका नेपाली फिल्महरु भन्दा समग्रमा राम्रो चलेको पनि पाईन्छ । नेपाली फिल्म उद्योगमा पछिल्लो समय व्यापारिक रुपमा मन्दी आईरहेका बेला फिल्म उद्योगमा देखिएका नयाँ पुस्ता मानिएका केहि युवाहरुले बनाएको फिल्म ‘अध्याय’ केहि आशाका साथ प्रदर्शनको संघारमा छ । 


बिल्कुल नेपाली नामको शिर्षक रहेको ‘अध्याय’ फिल्म पुरै नेपाली परिवेशमा आधारित रहेर बनाईएको निर्माण पक्षले दाबी गरेको छ । पुस २७ गतेदेखि अल नेपाल रिलिज हुने क्रममा रहेको यो फिल्मको प्रचारप्रसार स्वरुप यसको निर्माण टोली र कलाकारहरुको टोली देश दौडाहामा निस्केको छ । विहिबार पोखरा आईपुगेको टोलीमा रहेका नायक कर्माले यो फिल्मको बारेमा केहि खुलाशा गर्दै भने–‘अध्याय नितान्त नेपाली पन बोकेको फिल्म हो ।’ नेपाली परिवेशमा अहिलेको युवापुस्ताले कसरी मायाप्रेम गरिरहेका छन् ? भन्ने कुरा अध्यायमा निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको उनले थपे ।

एउटै परिवेशमा बस्ने तीन जना फरक स्वभावका युवाहरुले गर्ने गतिविधिबाट एक अर्कालाई कसरी प्रभाव पर्छ र त्यो प्रभावले उनीहरुको लभस्टोरीमा कसरी ट्विस्ट ल्याउँछ भन्ने थिममा रहेर कथालाई प्रस्तुत गरिएको फिल्मका अर्का कलाकार सुशिलराज पाण्डेले बताए । ‘यो फिल्मले युवापुस्तालाई आकर्षण गर्नेमा कुनै दुईमत छैन', उनले भने–‘लुट फिल्मलाई जसरी दर्शकले माया गरेका थिए ठिक त्यसरी नै दर्शकको साथ पाउने हामीले अपेक्षा लिएका छौँ ।’

लुट फिल्मकै मुख्य सहायक निर्देशक प्रविन स्याङबोको निर्देशनमा बनेको यो फिल्ममा लुटबाट चर्चा पाएका दुई कलाकार कर्मा र सुशिलराज पाण्डे नै मुख्य भुमिकामा देखिएका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार फिल्ममा करिब ७५ लाख रुपैँयाको लागत रहेको छ । फिल्ममा सिम्पल खनाल, शान्ती गिरी, आकाश मगर, स्वस्तिकराज भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

देश दौडाहामा निस्किएको टोलीमा निर्देशक स्याङ्गबोको भने सहभागिता रहेको छैन । दौडाहालाई नेतृत्व गरिरहेका फिल्मका निर्माताहरु मध्येका एक रामहरी अधिकारीले आफुले पहिलो पटक फिल्ममा लगानी गरेको र फिल्म निकै राम्रो बने पनि अहिलेको अवस्थामा फिल्म कस्तो चल्ने हो भन्ने कुरामा आफु शंकास्पद रहेको बताए । यद्यपी नेपाली फिल्म उद्योगलाई राम्रो फिल्म दिनका लागी आफुले गरेको लगानीलाई दर्शकले साथ दिने उनले अपेक्षा गरे ।