चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि पैसाको चलखेल शुरू भएको बिश्वस्त स्रोतले फिल्मीखबरलाई जानकारी दिएको छ । स्रोतका अनुसार लामो समय देखि चयन हुन नसकेको बोर्ड अध्यक्षका लागि १० देखि ४० लाख सम्मको चलखेल चलिरहेको छ । स्रोत भन्छन्, 'यहि पैसाको चलखेलले गर्दा अध्यक्ष चयन हुन सकिरहेको छैन ।'
पैसाको चलखेलसँगै बिकास बोर्डको पहलमा निर्माण गर्ने भनिएको फिल्म सिटीको बिषयले पनि अध्यक्ष चयनमा अबरोध आएको स्रोतको दाबी छ । स्रोत भन्छ, 'पोखरा हुँदै दोलखामा पुगेको फिल्म सिटीलाई अब तराई भेगमा सार्ने योजाना बनाईएको छ जसले गर्दा सञ्चारमन्त्री राजकिशोर यादवको फोरम पार्टीमा अध्यक्ष बन्नका लागि घुसपैठ गर्ने तयारी पनि गरिएको छ ।'
यि यस्तै चलखेलले गर्दा मन्त्री यादवले असनस बसेका फिल्मकर्मीको माग मध्येको प्रमुख बुँदा अध्यक्ष चयनलाई भोली पल्टै नियुक्त गर्ने भनेर गरेको प्रतिबद्धता अहिले सम्म पूरा गर्न सकेका छैनन् । गरेको प्रतिबद्धता पूरा नभएपछि राष्ट्रिय चलचित्र बचाऊ अभियानको नारा लिएर गठन गरिएको राष्ट्रिय चलचित्र संरक्षण मञ्चले आज मन्त्री यादवलाई तीन दिने अल्टिमेटम दिंदैछ । तीन भित्र गरेको प्रतिबद्धता पूरा नगरे आन्दोलनमा जाने भन्दै मञ्चले मन्त्री यादवलाई अप्रिय निर्णय लिन बाध्य नपार्नुस् भन्दै आज अल्टिमेटम पत्र दिन लागेको हो ।

