Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

गुरूकुलमा पासिङ रोल गरेकी समुना आज फिल्मकी हिरोईन

फिल्मीखबर, काठमाण्डौ, 2013/01/02

सपना देखेर पछि नै पूरा हुने हो तर सबै देखिएका सपना पूरा हुन्छन् भन्ने पनि हुँदैन । बिगत आठ बर्ष देखि नाट्य बिधामा काम गर्दै आएकी कलाकार समुना केसीको हकमा भने यो कुरा लागु भएको छ । उनले जे कुराको सपना देख्थिन् त्यो आज पूरा हुँदै आएको छ ।

 

समुनाको सानै देखि नै हिरोईन बन्ने सपना थियो । स्कुल पढ्दा नेपाली फिल्म हेर्न गएको स्मरण गर्दै समुना भन्छिन्- 'पर्दामा हिरोको अघिपछी गर्दै हिरोईन नाचेको देख्दा मलाई पनि हिरोईन हुने रहर जाग्थ्यो तर सम्भावना देखेकी थिईन् । अहिले थाहा भयो आखिरमा सपना देखे पछि नै पूरा हुने रहेछ ।' देशभर प्रदर्शनरत फिल्म धन्दाकी हिरोईन समुना भन्छिन्- 'अहिले पनि सपना जस्तो नै लाग्छ ।'

 

धन्दाको प्रिमियरमा उपस्थित हुँदा आफू निकै खुसी भएको सुमिना बताउँछिन् । 'टेलिभिजनमा फिल्मको प्रिमियर भएका समाचारहरू हेर्दा त्यहाँ म उपस्थित हुन पाए कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्थें तर आज आफै कलाकारको रूपमा उपस्थित हुँदा एउटा सपना पूरा भए जस्तो लागेको छ ।' कक्षा १२ सके पश्चात गुरूकुलमा भर्ना हुँदाको क्षणलाई स्मरण गर्दै समुना भन्छिन्- 'अचानक गुरूकुलमा पुग्दा फर्म खुलेको रहेछ । मैले पनि फर्म भरें र दुई पटक अडिसन दिए पश्चात पास भएँ । शुरूमा पासिङ रोल मात्र दिईएको थियो । दुई बर्ष सम्म डाईलग भएको भुमिका नै गर्न पाईन तर अरूको हेर्दा गर्न सक्छु भन्ने लाग्थ्यो । त्यो आफू प्रतिको बिश्वास आज पूरा गर्न पाएकी छु ।'

 

 

अब हिरोको अघिपछी गरेर डाँडा पाखामा गीत गाउँदै छमछमी नाच्ने समुनाको इच्छा छ । हाल छायाँकनमा रहेको फिल्म तोरी लाहुरेले केहि हदसम्म त्यो इच्छा पूरा गर्ने उनी बताउँछिन् । पछिल्लो समय फिल्ममा भल्गारिटी आए पनि ग्ल्यामर नायिका बन्ने उनको इच्छा छ । आफूले पाएको भुमिकालाई न्यान गर्न उनी हरेक किसिमको चरित्र निर्वाह गर्न तयार छिन् तर भल्गर सिनमा उनको आपत्ति छ । नाटकबाट आए पनि आफू भित्र हरेक किसिमको खुबी रहेको समुनाले दाबीका साथ भनिन् ।
 

तीन बर्ष भारतमा नाट्य बिधामा अध्ययन गरे पश्चात उनले भारतकै थुप्रै स्थानमा आफ्नो कला देखाईन् । त्यसपश्चात नेपाल आएर पनि उनले थुप्रै जिल्लाहरूमा आफूलाई बिभिन्न पात्रको रूपमा उभ्याएर दर्शकको मन जित्ने कोसिस गरिन् । अब उनको चाहना फिल्मबाट दर्शकको मन जित्नु छ । नाटक र फिल्म दुबैलाई एकैसाथ लैजाने योजना बनाएको समुना बताउँछिन् । भन्छिन्, 'नाटकबाट धेरै कुरा सिक्ने मौका पाएँ अब फिल्मबाट केहि कुरा सिक्न चाहन्छु । तर नाटकलाई छोड्न सक्दिन । किनकी हरेक नाटकले मलाई नयाँ जीवन बाँच्न सिकाएको छ ।'

 

 

भोलीका दिनमा निर्देशन र प्रोडक्सनमा पनि आउने इच्छा रहेको बताउँने समुना यो क्षेत्र बाहेक अरू केहि नसोचेको बताउँछिन् । उनी भन्छिन्, 'सानै देखि यहि क्षेत्रमा नै आउने सपना देखें अहिले आएपछि कसरी छोड्न सक्छु र ?' १६ बर्षको उमेरमा घर छोडेर गुरूकुलमा बिश्वासका साथ बस्न दिने आफ्नी आमालाई प्रेरणाको स्रोत मान्ने समुनाले पहिलो पटक सर्ट फिल्म मार्फत क्यामेरा अगाडी प्रस्तुत गराएका निर्देशक अबिनाश बिक्रम शाहलाई सधैं सम्झिरहने बताईन् । यस्तै दोस्रो सर्ट फिल्म '१ पर्सेन्ट' का निर्देशक नविन अवाल र धन्दा फिल्मका अभिनेता अर्पण थापालाई पनि उनले धन्यवादको पात्रको रूपमा राखेकी छिन् ।