नेपाली फिल्मका एक महान हस्ती महानायक राजेश हमाल सर्लाहीमा आउने भएका छन् । लामो समय देखि आफ्नो सहयोगीका रुपमा काम गर्दै आएका रोशन हमालको निर्देशनमा तयार भएको फिल्म रङको बिशेष शोमा हमाल सर्लाही आउने भएका हुन् ।
सर्लाहीको घुर्कौलिमा रहेको चेतना सन्देश नेपालले सञ्चालन गरिरहेको द्धन्द पिडीत बाल गृहका बालबालिकाहरुको सहयोगार्थ रङको प्रिमियर गर्न लागिएको हो । आगामी माघ ६ गते शनिबार दिउँसो २ बजे सर्लाहीको लालबन्दीमा रहेको बिणा चलचित्र मन्दिरमा फिल्मको बिशेष शो गरिन लागिएको हो । उक्त शोका लागि हमाल शनिबार बिहान सर्लाही आएर आईतवार फर्कने कार्यक्रम तय गरिएको छ । राजेशले आईतवार बिहान सोही संस्थाले सञ्चालन गर्न लागेको पस्तकालयको पनि उद्घाटन गर्ने भएका छन् ।
फाल्गुन ४ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने बताईएको फिल्म रङलाई एमआर फिल्मस्को व्यानरमा मदन केसीसँग मिलेर निर्देशक रोशनले निर्माण गरेका हुन् । राजेशको साथमा करिष्मा मानन्धरको पनि बिशेष भुमिका रहेको यो फिल्ममा सुमन सिंह, सुमिना घिमिरे, दीपशिखा शाही, मुकेश आचार्य, दर्शन शाही र मदन केसी मुख्य भुमिकामा छन् । फिल्ममा आलोक श्री र एलिस कार्कीको संगीत रहेको छ ।

