साँझको समय धरानमा मौसम चिसो भए पनि सारी लगाएर उपस्थित भएका नायिकाहरु निशा अधिकारी र दिया मास्केलाई दर्शकको उत्साहजनक उपस्थिति देखेर जाडो नभएको अनुभूति गर्न सकिन्थ्यो ।
फिल्म सुनगाभाको च्यारिटी शो हेर्न र आफुलाई मन परेको कलाकार भेट्न गणेश टाकिजको प्राङ्गढमा धराने दर्शकको भिड बेलुकी ५ बजे देखि नै जम्मा हुन थालेको थियो । जाडोको मौसममा केवल सारीमा मात्रै उपस्थित भएका निशा र दिया हलमा प्रवेश गर्नासाथ उनीहरुसंग फोटो खिच्न फ्यानहरु ब्यस्त भएका थिए । यसअघि अन्य फिल्मको च्यारिटी गर्दा कलाकार बिना नै सामान्य रुपमा च्यारिटी शो गरिने परम्परा भए पनि सुनगाभाको कलाकारको उपस्थतीसंगै रेड कार्पेटमा च्यारिटी शो गरिएको थियो ।

च्यारिटीका लागि निशा र दियाको साथमा निर्माता तथा निर्देशक सुवर्ण थापा, कार्यक्रम संयोजक गरेकी पुर्व मिस नेपाल माल्भिका सुब्बा र वितरक प्रज्वल समशेर राणा पनि धरान आएका थिए । सुब्बाले संचालन गरेको औपचारिक कार्यक्रममा बोल्दै दुवै नायिकाले फिल्म शुटिंग गर्दाको अनुभव सुनाएका थिए भने निर्देशक सुवर्णले विभिन्न फिल्म फेस्टिभलमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएकोले रिलिज पश्चात पनि फिल्मले सफलता पाउने दाबी गरे । महिलाको कथामा नै फिल्म निर्माण भएको हुनाले च्यारिटीबाट उठेको रकम धरानकै महिला ससक्तिकरण समूहलाई सहयोग गरिएको थियो ।
फिल्म हेरिसके पछि दर्शकले भिन्न कथा बोकेको उत्कृष्ट नेपाली फिल्म हेर्न पाएको प्रतिक्रिया दिएका थिए । अधिकांश दर्शकले निशा र दियाले गरेको कमको प्रसंसा गर्दै उनीहरुलाई बधाई समेत दिएका थिए । त्यसो त फिल्मलाई सबैले रुचाए पछि सुवर्ण समेत खुसि देखिन्थे । पौष २० अर्थात आउदो शुक्रबारबाट देशभरका हल मार्फत रिलिज हुन लागेको फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, बसुन्धरा भुसाल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

