सिन्केउली सेउली सेलेले ....
नाचीमा जाउ है पेलेले .....
आज पौष १३ गते शुक्रवारको दिन किरात राईहरुको सबैभन्दा ठुलो महान चाड साकेला उधौली पर्वमा यो माथिको गीत धेरैले गाए । आज देशभरमा राई समुदाय साकेला उधौली पर्वमा रमिरहेका छन् । यस दिनलाई राई समुदायले विषेश दिनको रुपमा लिने गरेका छन् ।
उधौली पर्व मनाउने क्रममा आज ललितपुर नखिपोट स्थित हरेका बर्षहरूमा झैं राई समुदायहरु भेला भएर एकआपसमा साकेला नाच्ने गरेका छन् । तर अभिनेता दयाहाङ राईले भने आफ्नै कार्य व्यस्तताले गर्दा सो महान अवसरमा जान नपाएकोमा दु:ख लागेको बताए । विहान सम्म साकेला नाच्नका लागि जान तयार भएका राईले थिएटर र आफ्नो कार्य व्यस्तताले जान नपाएको बताए । तर पनि अभिनेता राईले शनिवार भने जसरि भए पनि साकेला नाच्न पुग्ने फिल्मीखरलाई बताए ।
साकेलाका लागि खाडिको दौरा सुरुवाल तयार गरे पनि शनिवारको दिन निकै मिटिङहरु परेकाले समय मिलाउनका लागि साधारण ड्रेसमै साकेला नाच्न पुग्ने बताए । फिल्म लुटबाट अपत्यारिलो सफलता पाए पश्चात अभिनेता राई निकै व्यास्त छन् । भर्खरै मात्र झोले फिल्मको सुटिङ सकेका दयाले केहि साता मै अर्को फिल्ममा साईन गर्ने बताए । उधौली पर्वको यो मेलामा अन्य राई कलाकारहरूको उपस्थिती न्यून देखिएको थियो ।

यता छोटो समयमा नै चर्चामा आएका अर्का राई कलाकार विल्सन विक्रम राई भने उधौली पर्व मनाउन मोरङ पुगेका छन् । मोरङको राधानगरमा साकेला नाच्दै गरेका विल्सनले फिल्मीखबरसँगको कुराकानीमा भने, 'आज त मज्जाले नै साकेला नाचियो ।' आफ्नै कलासंस्कृती भएकाले निकै रमाईलो तरिकाले उधौली पर्व मनाउने गरेको विल्सनको भनाई छ । यहि उधैली पर्वको अवसर पारेर जापानमा आयोजना हुन गईरहेको बिशेष साँस्कृतिक कार्यक्रममा भाग लिन उनी भोली त्यसतर्फ उड्दै छन् ।

