महानायक राजेश हमालको बिबाह प्रसङ्गसँगै चर्चित गायक राजेश पायल राईको बिबाहको चर्चा पनि हुने गर्दछ । अहिलेसम्म बिबाह नगरी बसेका यि दुई राजेश नै अब बिबाहको मुडमा पुगेका छन् । हमालले एक बर्ष भित्रमा बिबाह गर्ने बताएका छन् भने राईले पनि अब छिट्टै बिबाह गर्ने मुड बनाएका छन् ।
केहि दिन अगाडी मात्र युरोपको सांगितिक टुर सकेर हाल अष्ट्रेलिया पुगेका गायक राईले छिट्टै नै बिबाह गर्ने मुड बनाएको बताए । युरोप टुरका बेला करिब एक महिना जस्तो लण्डनमा आमाबाबुसँग बसेका राजेशले बिबाहको बारेमा निकै छलफल गरेको बताए । फिल्मीखबरसँगको कुराकानीमा उनले भने, 'परिवारबाट अलि बढि नै दबाद आएकोले अब बिहेको बारेमा सोच्नै पर्ने भएको छ ।'

भोली शनिबार अञ्जना गुरूङको सहयोगमा अष्ट्रेलियाको सिड्नीमा लाईभ प्रस्तुतीको तयारी गरेका राजेशले आफ्नो साँगितिक वर्ल्ड टुर नै बिबाहको बाधक बनेको बताए । फेब्रुअरी महिनामा कोरिया र कुवेतमा आफ्नो साँगितिक कार्यक्रम पश्चात वर्ल्ड टुरले बिट मार्ने बताउँदै राजेशले त्यसपछिको फुर्सदको समयमा बिबाहलाई प्राथमिकता दिने बताए । अष्ट्रेलियाको कन्सर्टको आयोजना तमु समाज, अष्ट्रेलियाले गरेको हो । उक्त कन्सर्टमा आफ्ना दर्जनौ हिट गीत दर्शकमाझ प्रस्तुत गर्ने राजेशको भनाई छ ।

