झण्डै एक बर्ष पश्चात फिल्म ईन्डष्ट्रीमा प्रिमियर रौनक देखिने भएको छ । गत बर्ष माघ महिनामा आई एम सरीको प्रिमियर पश्चात अन्य फिल्मको ग्राण्ड प्रिमियर भएको थिएन । तर फिल्म ईन्डष्ट्रीका आश लाग्दा निर्देशक सुदर्शन थापाले पुनः एक पटक प्रिमियर कल्चरलाई साहासका साथ अगाडी ल्याउने जमर्को गरेका छन् ।
आई एम सरी दिनेश राउतको निर्देशनमा बनेको फिल्म थियो जुन फिल्मको रिलिज पश्चात मल्टीप्लेक्स केन्द्रित गरी अन्य फिल्मको प्रिमियर गरिएको थिएन । प्रोड्यूसर बाबुराम दाहालका अनुसार चाबहिल चुच्चेपाटीमा खोलिएको केएल सिनेमा सिटी अन्र्तगतको एफक्यूब सिनेमा हलमा भोली साँझ धन्दाको प्रिमियर तयारी पूरा भएको छ ।
प्रिमियरमा करिब २ सय फिल्मकर्मी र मिडियाको सहभागिता रहने दाहालको भनाई छ । 'यो प्रिमियरमा जति सक्दो धेरै फिल्मकर्मीको उपस्थिती गराउने सोच बनाएका थियौं तर हलको सिट क्षमताका आधारमा सेलेक्टेड २ सयलाई मात्र हाम्रो निम्तो गएको छ', निर्माता दाहालले भने । दाहालले विशेषत मिडियाका लागि आफ्नो फिल्मको प्रिमियर केन्द्रित रहने तर्क गरेका छन् ।
पर्सी शुक्रबार देखि राजधानीका १६ सहित मोफसलका ३० वटा थिएटरमा यो फिल्म लाग्दैछ । केएल सिनेमा सिटीले पनि प्रिमियरका लागि धन्दा यूनिटले आफ्नो हल रोजेका कारण टम क्रुजको फिल्मलाई स्थगित गरी धन्दालाई प्राथमिकता दिएको बताएको छ । केएल सिनेमा सिटी म्यानेजमेन्ट कमिटीका मेम्बर अरुण रिजालले हलको सम्पूर्ण निर्माण कार्य पूरा नभईसकेको अवस्थामा पनि यो फिल्मको ट्रेलरबाट आफूहरु प्रभावित भएको भन्दै प्रिमियर स्वीकृति दिईएको बताए ।
स्मरण रहोस् आई एम सरी पछि मायाको बारीमा, दुलही रानी लगायतका केहि फिल्मको प्रिमियर गरिए पनि ति फिल्महरुले फिल्म क्षेत्रमा कुनै महत्व राखेको थिएन ।

