गत मंसिर २४ गते वितरण गरिएको फिल्मीखबर डिजिटल फिल्म अवार्डमा सहयोग पुर्याउने संघसंस्था, निर्णायक सदस्य, विज्ञापन दाता, स्वयंसेवक तथा मिडिया सहयोगीहरूलाई आयोजकले शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रममा बोल्दै अवार्ड अध्यक्ष शान्तिप्रियले चौंथो संस्करण सम्म आईपुग्न थुप्रै बाधाअवरोधका बाबजुत पनि अवार्ड सफल हुनुमा फिल्मकर्मी, संघसंस्था सहित सञ्चारामाध्यमको महत्वपूर्ण भुमिका रहेकाले यस किसिमको सम्मान तथा धन्यवाद कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै उनले शुरूमा डिजिटल फिल्म अवार्ड गर्दा धेरैले नकारात्मक टिप्पणी गरे पनि अहिले सम्पूर्ण फिल्म उधोग नै डिजिटलमा पुगेकाले आफ्नो अवार्ड सफल भएको बताए । उनले भने, 'फिल्म उधोग नै डिजिटलमा जानु अवार्डले पनि महत्वपूर्ण भुमिका खेलेको मैले महसुस गरेको छु ।'

यस्तै कार्यक्रम निर्देशक प्रदीप उदयले पनि कार्यक्रम निरन्तर गर्न सकेकोमा सहयोगीहरूलाई धन्यवाद दिन भ्याए । उनले पनि अबको फिल्म क्षेत्रमा डिजिटलको विकल्प नरहेको भन्दै फिल्मीखबर डिजिटल अवार्ड यसैगरी चलिरहने बताए । यता डिजिटल सिनेमा नेपालमा महाप्रबन्धक अशोक शर्माले नेपालमा डिजिटल सिस्टम भित्र्याउँदा निकै समस्या झेल्नु परेको व्यथा सम्झदै नेपाल विश्वमै पूर्ण डिजिटल फिल्म उधोग हुन सकेकोमा खुसी व्यस्त गरे । उनले फिल्मीखबर अवार्डलाई बिगतका दिनमा जस्तै आगामी दिनमा पनि पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।


