माघ १९ बाट फाल्गुन ११ गतेका लागि रिलिज डेट तय गरिएको फिल्म 'छड्के' को अफिसियल हल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक फस्टलुकबाट राम्रो प्रशंसा पाएको छड्केको यो हल प्रोमोले कति आकर्षित गर्छ हेर्न बाँकी छ ।
फिल्मको प्राबिधिक काम नसकिएको भन्दै रिलिज पोस्टपोण्ड गरेको निर्माता तथा वितरक नरेन्द्र महर्जनले फिल्मीखबरलाई बताए । उनले भने, 'माघ १९ मा रिलिज गर्ने तयारी गरिएको हो तर पोस्टको काममा अलि बढि समय लाग्ने देखेर सारेका हौं ।' लुट जस्तो सुपरहिट फिल्म निर्माण गरेका निर्माताद्धय माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेको पछिल्लो फिल्म 'छड्के' लाई लुटकै सहायक निर्देशक निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
ग्याङस्टार फिल्म 'छड्के' मा सौगात मल्ल, रुविन तामाङ, दयाह्याङ राई, अर्पण थापा, नम्रता श्रेष्ठ, सुनिल पोखरेल, विपिन कार्की लगायतका कलाकाहरुको अभिनय हेर्न सकिनेछ । निर्देशक श्रेष्ठकै कथा रहेको यो फिल्मको छायाँकन संजय लामाले गरेका हुन् भने संगीत नाईट ब्याण्ड, सम्पादन लोकेश बज्राचार्य र दीर्घ खड्काको रहेको छ । यस्तै फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन हेर्न सकिनेछ ।

