Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

वरदानको पोस्टरमा राजेश र करिष्मा, निर्देशकको नाम राखिएन

फिल्मीखबर, काठमाण्डौ, 2012/12/20

पछिल्लो समय नेपाली फिल्म निर्देशक तथा निर्माताहरूले पूराना कलाकारहरूलाई पब्लिसिटी सामाग्रीमा स्थान कमै मात्रामा दिने गरेका छन् । नयाँ अनुहार नै बढि चल्ने भ्रम पाल्दै पूराना स्टारहरूलाई पाखा लगाउने परम्पराको शुरूवात भएको छ ।

 

पूराना कलाकारलाई पोस्टर तथा प्रोमो अनि गीतमा देखाउँदा दर्शकहरू भड्किन्छन् भन्ने फिल्मकर्मीहरूको मान्यतालाई निर्माता कविता श्रेष्ठले गतिलै झापड दिएको प्रस्तुत वरदान फिल्मको पोस्टरमा देखिन्छ । कविताले कुनै बेलाको चर्चित फिल्मी जोडी राजेश हमाल र करिष्मा मानन्धरलाई आफ्नो फिल्मको पोस्टरमा पहिलो प्राथमिकतामा राखेकी छिन् । 'जस्ले जे भने पनि उहाँहरूको आफ्नै क्रेज छ र अहिले पनि उहाँहरूकै फिल्म बढि चल्छ', कविताले विश्वासका साथ भनिन् ।

 

 

फाल्गुन २५ गतेका लागि नेपाल रिलिज मिती तय गरिएको फिल्म 'वरदान' को अर्को पोस्टरमा भने नायिका रेजिना उप्रेती र नायक मुकेश ढकाललाई प्रमुख स्थान दिईएको छ । पारिवारिक प्रेमकथामा आधारित यो फिल्मका मुख्य पात्र पनि यिनै चार कलाकार हुन् । सोभित बस्नेतले निर्देशन गरेको यो फिल्म नायिका रेजिना उप्रेतीको रेजिना फिल्म्स र कविताको कविता फिल्म्सको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्मको पोस्टरमा भने निर्देशक शोभित बस्नेतको नाम राखिएको छैन । बिबिध बिषयमा बिबाद भएपछि निर्माता श्रेष्ठले निर्देशकको नाम पोस्टरमा मात्र नभएर फिल्ममा समेत नराख्ने बताएकी छिन् ।

 

फिल्मकी प्रस्तुतकर्ता नायिका उप्रेती अहिले यहि फिल्मको रिलिजका लागि लण्डनमा छिन् । उनले लण्डनका केहि स्थानमा फिल्मको बिशेष शो गराईसकेकी छिन् । हेरे जति दर्शकले फिल्मलाई रूचाएको नायिका उप्रेतीले बताएकी छिन् । यस्तै यो फिल्मलाई छिट्टै नै अष्ट्रेलियामा पनि रिलिज गरिने निर्माता श्रेष्ठले बताईन् । सञ्चारकर्मी ध्रुब लम्सालको लेखन रहेको यो फिल्ममा मनोहर सुनामको संगीत, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, कृष्ण श्रेष्ठको छायाँकन तथा शिब विकको नृत्यनिर्देशन रहेको छ ।