फिल्म क्षेत्र सुधारका लागि उठाईएको नौ बुँदे मागको पक्षमा अधिकांश फिल्मकर्मी रहेका बेला अखिल नेपाल चलचित्रकर्मी मञ्चका संयोजक एवं निर्देशक शिवजी लामिछाने भने विपक्षमा देखिएका छन् ।
गत सोमबार देखि सुरु भएको आमरण अनसनलाई विशिष्ट देखि सानो स्तरमा कार्यरत फिल्मकर्मीले समर्थन गरिरहेको आवास्थामा शिवजी भने विपक्षमा देखिएका हुन् । उनले सिकिस्त विरामी रहँदा पनि आजबाट रिले अनसनमा उत्रिएकी अभिनेत्री मौसमी मल्ललाई पटक–पटक फोन गरी आन्दोलनलाई समर्थन नगर्न दवाव दिएपछि यो आन्दोलनको पक्षमा उनी नरहेको रहष्य खुलेको हो ।
रिले अनसनमा उत्रिएकी मौसमीले फिल्मीखबरसंग एक्सक्लुसिभ कुरा गर्दै भनेकी छिन्, 'म अनसनमा बस्ने खबर बाहिरिएपछि शिवजीले मलाई पटक–पटक फोन गरी आन्दोलनलाई समर्थन नगर्न दवाव दिनु भयो जुन कुरा जायज थिएन र यो कुरा सार्वजनिक गर्न म बाध्य भएको हुँ ।' यस्तै यो बिषयमा शिवजीसंग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेका छैनन् ।
निर्देशक समाजका अध्यक्ष विमल पौडेलसंग शिवजीको ब्यक्तिगत सम्बन्ध राम्रो छैन जुन सम्बन्धलाई लिएर उनले समग्र फिल्म उद्योगको हितको पक्षमा सुरु गरिएको आन्दोलनलाई समर्थन नगर्न आफू निकट फिल्मकर्मीलाई दवाव दिएको मौसमीको स्टेटमेन्टले जनाउँछ ।
मन्त्रीसंग भोली बिहान ११ बजे हुने भो बार्ता
आन्दोलनको चौथो दिन भोली सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवसंग आन्दोलनरत फिल्मकर्मीको बार्ता हुने भएको छ । आन्दोलनको नेतृत्व गरिरहेको राष्ट्रिय चलचित्र संरक्षण मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलका अनुसार बिहिबार बिहान ११ बजे मन्त्री कार्यालय सिंहदरबारमा दुई पक्ष छलफल हुनेछ । दर्पणका अनुसार सञ्चारमन्त्रीले तत्काल आफ्नो पावरले भ्याएसम्मका मागहरुलाई सम्बोधन गर्ने तयारी गरिरहेका छन् । सम्भवत केही प्रमुख मागहरुमा लिखित रुपमा भोली सम्बोधन भएको खण्डमा अनसनका कार्यक्रम तोडिने छ ।

