कुनै समयका चर्चित अभिनेता सरोज खनाल अब फिल्म निर्माणमा आउने भएका छन् । मंगलबार फिल्मीखबरसँगको भेटमा छिट्टै नै आफ्नो लगानीमा फिल्म बनाउने सरोजले बताए ।
पारिवारिक कामले केहि दिन अगाडी नेपाल आएका सरोज अहिले फिल्मको लागि स्क्रिप्ट फाइनलमा व्यस्त छन् । उनी भन्छन्, '२६ डिसेम्बरमा अमेरिका फर्कन्छु र केहि महिनामा नै नेपाल आएर फिल्म बनाउँछु ।' आफूले बनाउने फिल्ममा हिरो भएर नदेखिने उनको भनाई छ । उनी थप्छन्, 'अहिले मैले बनाउने फिल्म एउटा प्रयोग हुनेछ त्यसैले पनि अहिले चलिरहेको टिमसँग काम गर्नेछु ।'
अब नेपाल फर्कदा अमेरिकाको जागिर नै छोडेर अधिकांश समय यहि बिताउने गरेर आउने र नेपाली फिल्ममा सक्रिय भएर लाग्ने उनको भनाई छ । फिल्मको कथा आफूलाई फिल्म क्षेत्रमा ल्याएका 'भिड देखि भिडसम्म' का निर्देशक उमेशनाथ अर्याललाई लेख्न दिएको सरोजले बताए । 'मैले त फिल्म निर्देशन पनि उहाँलाई नै गर्न आग्रह गरेको थिएँ तर उहाँले निर्देशन गर्ने इच्छा देखाउनु भएन', सरोजले भने, 'सायद नयाँ टिमसँग काम गर्छु होला अब ।'
फिल्म निर्माणसँगै अभिनयलाई पनि सरोजले निरन्तरता दिने बताए । 'अब पनि फिल्ममा आईन भने दर्शकले बिर्सनु हुन्छ', सरोजले भने, 'मलाई लाग्छ यो नै राईट टाईम हो फिल्म निर्माण र अभिनयमा आउनु ।' सरोजले आफूले निर्माण गर्न लागेको फिल्ममा मुख्य भुमिका भने निर्वाह नगर्ने बताए । तर पनि आफूले निर्वाह गर्ने अन्य भुमिकाले आफ्नो पुनरागमन हुने उनको दाबी छ ।

