चलचित्र क्षेत्र सुधारका लागि नौ बुँदे माग सहित आमरण अनसनमा उत्रिएका निर्देशक समाजका अध्यक्ष विमल पौडेललाई फिल्मक्षेत्रसंग सम्बन्धीत सम्पूर्ण संघसस्थाले समर्थन गरेका छन् ।
अनसनको दोस्रो दिन आज प्रेस मिट गरी बरिष्ठ फिल्मकर्मी नीर शाहको संयोजक्त्वमा १६ सदस्य राष्ट्रिय चलचित्र उद्योग बचाऊ अभियान सचिवालय समिति समेत गठन गरिएको छ । यो सचिवालयले उठाईएको मागहरुको बिषयमा सरकारसंग बार्ता गर्ने र नयाँ आन्दोलनको रणनीति बुन्ने छ ।
सचिवालयमा निर्मातासंघबाट अध्यक्ष राजकुमार राई तथा सचिव सुरेश दर्पण पोखरेल सदस्यका रुपमा छन् भने कलाकारसंघबाट अध्यक्ष नवल खड्का र महासचिव रामकेशर बोगटी, प्राविधिकसंघबाट अध्यक्ष मनोज केसी र महासचिव अनन्त तिमिल्सना, द्धन्दसंघबाट अध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला चलचित्रकर्मी मञ्चबाट अध्यक्ष मौसमी मल्ल, चलचित्र पत्रकारसंघबाट अध्यक्ष विदुर गिरी, आदिवासी जनजाति चलचित्र महासंघबाट अध्यक्ष प्रतिमा पुनः र पृनाराज जोशी , बरिष्ठ फिल्मकर्मी राजेन्द« शलभ, बसुन्धरा भुषाल, सुभाष गजुरेल र राजु केसी छन् । यो सचिवालयमा अन्य संघसंस्थाका थप प्रतिनिधी राख्ने तयारी भईरहेको प्रेस मिटमा जानकारी दिईएको छ ।
अग्रजले पनि सुरु गरे अनसन
यस्तै गत राति १२ बजेबाट निर्देशक समाजका सचिव एम.एस अग्रजले पनि आमरण अनसन सुरु गरेका छन् । उनले यो आन्दोलनलाई सफल पार्न आफूले अनसन सुरु गरेको पत्रकार सम्मेलनमा बताए । उनले माग पुर नहुन्जेल सम्मका लागि यो आन्दोलनमा आफ्नो एक्यबद्धता रहने बताएका छन् भने अध्यक्ष पौडेलले आफ्नो एकल प्रयासबाट सुरु गरेको आफ्नो आन्दोलनमा पाएको सर्वत्र समर्थनले हौसला बढेको बताए ।
.jpg)
हिजो बिहान देखि अनसनमा उत्रिएका विमल पौडेलको वि.पी.(ब्लडप्रेसर) बढेको छ । उनको स्वास्थ्य परिक्षण डाक्टर बिष्णु अधिकारीले गरिरहेका छन् । प्रेसर ' घट्नुपर्नेमा बढेको छ तर यो बढ्नु पनि त्यतिकै खतरा हो' डाक्टर अधिकारीको भनाई छ ।
आन्दोलनलाई शसक्त ढङ्गले अघि बढाउन आज साँझ देखि केही निर्देशकहरुले पनि अनसन सुरु गर्ने तयारी गरिरहेका छन् । आन्दोलनरत स्थान चलचित्र बिकास बोर्डमा अहिले फिल्मकर्मीहरुहरुको आवतजावत बाक्लो छ ।

