नेपाल चलचित्र निर्देशक समाजको सदस्य पदबाट रामशरण पाठकले राजिनामा दिएको दुई महिनामा महासचिव राजेन्द्र उप्रेतीले पनि राजिनामा दिएका छन् । दुई महिना अगाडी नै राजिनामा दिने तयारी गरेका उप्रेतीले आज आफ्नो राजिनामा पत्र समाजको कार्यालयमा बुझाएका हुन् । कार्यालय सचिव सुरेन्द्र चौधरीले साँझ ४ बजे तिर राजिनामा पत्र बुझेको बताए ।
निर्देशक समाजको प्रवक्ता समेत रहेका उप्रेतीले कार्यसमितीको काम गर्ने शैली चित्त नबुझेर राजिनामा दिएको बताएका छन् । उनले भने, 'कार्यसमिती खासै एक्टिभ हुन सकेन अनि मैले काम गर्ने वातावरण नदेखेर राजिनामा दिएँ ।' यता अध्यक्ष विमल पौडेलले भने महासचिव जस्तो पदमा बसेका व्यक्तिले यस्तो आरोप लगाउनु उपयुक्त नरहेको बताए । उनले भने, 'उहाँले दुई महिना अगाडी नै आफ्नै आन्तरिक कारण देखाएर राजिनामा दिने बताउनु भएको थियो तर अहिले आएर कार्यसमितीलाई नै यस्तो नराम्रो आरोप लगाउनु उहाँको नैतिकताले दिंदैन जस्तो लाग्छ ।'
निर्देशक उप्रेतीले निर्देशक समाज मात्र हैन यसअघि नै फिल्म लाइन नै छोड्ने बताएका थिए । पछिल्लो फिल्म बडीगार्डबाट सफलता पाउन नसकेका कारण उनले यो पेशाबाट पूर्ण रुपमा अलग्गिने सोचाई बनाउँदै अन्य पेशा अंगाल्ने बताएका थिए । रामशरणले सदस्य पदबाट राजिनामा दिएपछि दिनेश डिसीलाई उनको स्थानमा नियुक्त गरिएको थियो । अब राजेन्द्रको राजिनामा स्विकृत भएको खण्डमा छलफल पश्चात महासचिव छानिने अध्यक्ष पौडेलले बताए ।
यता समाजको वर्कशप अगाडी कोषाध्यक्ष राकेश मानन्धरले राजिनामा दिईसकेका थिए । उनको कार्यभार सह-कोषाध्यक्ष राजु केसीले सम्हाल्दै आएका छन् । यस्तै उपाध्यक्ष प्रमोद भण्डारीले पनि छिट्टै नै राजिनामा दिने बताएका छन् । उनी पनि कार्यसमितीको काम चित्त नबुझेर राजिनामा दिने मुड बनाएको बताए ।
स्मरण रहोस् पटक-पटकको बैठकमा उपस्थित नहुँदा सदस्य शोभित बस्नेतलाई समाजले गत असोज ५ गते निष्काशित गरेको थियो । कार्यसमितको बैठकले शोभितलाई बहुमतले हटाउदै उनको स्थानमा किन लाग्छ मायाका निर्देशक गोपाल चन्द्र लामिछानेलाई नियुक्त गरेको थियो ।

