गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'थ्री लभर्स' राजधानीका अधिकांश हलबाट उत्रेको छ । तर, राजधानीका केहि मल्टिप्लेक्स हल सहित राजधानी बाहिर चितवन, बुटवल, पोखरा, दमौली, नेपालगञ्ज लगायतका स्थानमा भने उक्त फिल्मलाई हेर्न सकिनेछ ।
आज शुक्रबारबाट राजधानीमा तीन वटा फिल्म रिलिज भएकाले सिङ्गल स्क्रिनबाट थ्री लभर्स उत्रेको हो । सोचे जस्तो व्यापार गर्न नसकेका कारण सिङ्गल स्क्रिनबाट उत्रेपछि एक साताको कलेक्सनले लगानी रिकभर गर्ने अवस्था नआएकाले निर्माताले अब अर्न्तराष्ट्रिय बजार खोज्नु पर्ने भएको छ । निर्देशक सुरेश दर्पण पोखरेलका अनुसार थ्री लभर्सलाई अष्ट्रेलियामा र युरोपमा छिट्टै नै प्रदर्शन गरिंदै छ । करिब ५० लाखको यो फिल्मले नेपालबाट भने करिब २० लाख मात्र कलेक्सन गरेको सुरेश बताउँछन् । नेपालका अन्य थुप्रै हलहरूमा भने फिल्म चल्न बाँकी नै छ ।
यता व्यवसायिक कारणले पहिलो फिल्मबाट नायिका प्रियंका कार्कीले सफलता पाउन नसके पनि अभिनयको हिसाबले भने उनको प्रशंसा राम्रै भएको छ । उनी पनि आफ्नो कामको तारिफ हुँदा दंग छिन् । उनी भन्छिन्, 'आगामी दिनमा काम गर्नका लागि यो फिल्मले साहस र प्रेरणा दिएको छ ।' फिल्ममा निरज बराल र देबु श्रेष्ठ पनि मुख्य भुमिकामा छन् ।

