लामो समय देखि पालो कुरेर बसेको फिल्म 'मनले मनलाई छुन्छ' ले पौष २७ गते जलजला र अध्यायसँग प्रतिष्पर्धा गर्न आउने भएको छ । फिल्मका निर्माता बिरेन श्रेष्ठले फिल्मीखबरलाई दिएको जानकारी अनुसार रिलिजका लागि राजधानी बाहिरका हल बुकिङ भईसकेको छ भने राजधानीमा २० गते या २७ गते आउने संभावना छ ।
फिल्मको फाईनल प्रिन्ट मुम्बईबाट आईनसकेकाले पब्लिसिटी गर्न नपाएको बताउँदै बिरेनले केहि दिनमा प्रचार प्रसारलाई तिब्र पार्ने बताए । निर्माता तथा नायक श्रेष्ठले फिल्मको नामले जस्तै दर्शकको मनलाई फिल्मले छुने आशा ब्यक्त गरेका छन् । यस अघि पनि पारिवारिक प्रेमकथामा फिल्म 'मिस्टर मंगले' बनाएका बिरेनले यो फिल्म शिव रेग्मी शैलीको भएको बताएका छन् । राम्रो छबि बनाएका निर्देशक शिब रेग्मीले निर्देशन गरेको हुनाले पनि उनले फिल्म राम्रो बनेको र दर्शकले रूचाउने दाबी गरे ।
काठमाडौ, चितवन र धुलिखेलमा छायाँकन गरिएको फिल्म 'मनले मनलाई छुन्छ' मा बिरेन श्रेष्ठ, गरिमा पन्त, सुमन सिंह, केशब भट्टराई, मिथिला शर्मा, सिर्जना बस्नेत लगायतले अभिनय गरेका छन् । सुनिल सिटौलाको प्रस्तुती रहेको यो फिल्ममा बसन्त सापकोटाको संगीत, शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्धन्दनिर्देशन तथा कविराज गहतराज र टासी शेर्पाको नृत्यनिर्देशन रहेको छ । फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन् ।

